युरोपेली मुलुकमा ओमिक्रोन भेरियन्ट हाबी हुने चेतावनी

133 Shares

काठमाडौं । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपमा मध्य जनवरीसम्म कोभिड-१९ को नयाँ भेरियन्ट हाबी हुन सक्ने चेतावनी दिएकी छन् ।

बुधबार अध्यक्ष भोन डेर लेयनले युरोपेली युनियनमा आबद्ध २७ मुलुकमा मध्य जनवरीसम्म ओमिक्रोन नै प्रमुख भेरियन्ट भएर देखा पर्ने भन्दै चेतावनी दिएकी हुन् । कोभिड संक्रमण बढ्‍नाले उत्सवको समयमा निराशा छाउने चिन्ता व्यक्त भइरहेका बेला उनको यस्तो भनाइ आएको हो ।
यस पटकको क्रिसमस समेत महामारीका कारण खल्लो हुने भोन डेर लेयनको भनाइ थियो । ‘यस पटकको क्रिसमस पनि फेरि महामारीको छायाँमा पर्ने कुराले तपाईँहरू झैं म पनि दुःखी भएकी छु’, बिहीबार युरोपेली नेताबीच ब्रसेल्समा हुने बैठकपूर्व युरोपेली सांसदलाई उनले भनिन् ।

तर युरोपको ६६.६ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएको र ओमिक्रोनसँग जुध्न युरोपेली युनियनले राम्रो तयारी गरेको पनि उनले बताइन् । युरोपेली युनियनसँग महामारीसँग लड्ने ‘सामर्थ्य’ र ‘स्रोत’ दुबै रहेको पनि उनको भनाइ थियो ।

पछिल्ला हप्ता डेल्टा भेरियन्टका संक्रमित बढेको र ओमिक्रोन फैलिएका कारण युरोपेली मुलुकले दोहोरो चुनौती सामना गरिरहेको पनि भोन डेर लेयनले बताइन् । संक्रमितको संख्या बढ्दा अस्पतालमा थप चाप परेको पनि उनको भनाइ थियो ।

‘हामीले बिरामी हुने मानिसको संख्या बढिरहेको, अस्पतालमा थप चाप देखिएको र मृतकको संख्या वृद्धि भइरहेको देखेका छौं’, उनले भनिन्, ‘र बढी संक्रामक नयाँ ओमिक्रोन भेरियन्ट नजिकै आइरहेको कुराले म बढी चिन्तित भएकी छु ।’

बेलायतमा हरेक २ वा ३ दिनमा ओमिक्रोनका संक्रमित दोब्बरले बढेको र युरोपेली युनियनमा समेत सोही गतिले फैलिएको हुन सक्ने भोन डेर लेयनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार