टर्किस एयरलायन्सको मनपरी, नर्मल सिटको यात्रुलाई ट्रान्जिटमा अलपत्र पारेर विजनेश क्लासको पैसा माग्छ

एयरलायन्सका कर्मचारीले अध्यागमनकाे काम गर्याे, जुन काम कानूनत: दण्डित छ: व्यवसायी शेर्पा

  सगरमाथा अनलाईन

काठमाडौं । अन्तराष्ट्रिय उडान भर्दै आएको टर्किस एयरलायन्सले विभिन्न समयमा यात्रुलाई ट्रान्जिटमा अलपत्र पारेको समाचार सार्वजनिक हुनु कुनै नलौ विषय होइन । विभिन्न बहानामा एयरलायन्सका कर्मचारीहरुले यात्रुलाई अलपत्र मात्रै होइन, नर्मल सिटमा यात्रा गरिरहेका यात्रुहरुलाई ट्रान्जिटमा लगेर विजनेश क्लासको सिटमा यात्रा गर्नुपर्ने भन्दै बढि पैसा माग्ने गरेका छन् ।

यस्तै भएको छ जनवरी ५ तारिखको दिन वार्सिलोनाबाट नेपाल आउने ९ जना स्पानिस यात्रुलाई । टर्किस एयरलायन्सका कर्मचारीहरुले नर्मल टिकटमा यात्रा गरिरहेका स्पानिस नागरिकहरुलाई विजनेश क्लासको टिकट लिए मात्रै ट्रान्जिटबाट गन्तव्यमा पुर्याउने भन्दै रुखो व्यवहार गरेका थिए । बार्सिलोनाबाट ईस्तामबुल ट्रान्जिट भएर नेपाल घुम्न आएका ९ जना यात्रुलाई ट्रान्जिटमै अलपत्र पारेपछि टर्किस एयरलायन्सको ठगी धन्दा सार्वजनिक भएको हो । नेपाल आउने भिषा नभएको भन्दै एयरलायन्सका कर्मचारीहरुले अपराधीलाई जस्तै व्यवहार गरेको उनीहरुको आरोप छ । ‘भिषा छ की छैन भनेर हेर्ने र अनुमति दिने अध्यागमन विभागको हो’ एक यात्रुले भने, ‘तर टर्किस एयरलायन्सका इस्तामबुलमा रहेका कर्मचारीहरुले अध्यागमनका कर्मचारीहरुले जस्तै हामीलाई ३ रातसम्म विमानस्थलको एक यात्रु पतिक्षालयमा अलपत्र पारे ।’

हामीलाई १४ घण्टासम्म पानी पनि दिएनन् । हामी सबै कराएपछि मात्रै पानी दिए । हामीलाई खानाको लागि १८ घण्टापछि एक वटा स्यान्डवीच दिए । हामीले चिसो भुईमा ३ रात बितायौं । सायद कुनै अपराधीले पनि त्यस्तो चिसो भुईमा बस्नु पर्दैन होला । एक यात्रुले भने ।

हामीले एयरलायन्सका कर्मचारीहरुलाई सोध्यौं हामीलाई किन रोकेर राखेको भनेर, तर उनीहरुले कहिल्यै हाम्रो कुरालाई गम्भिर रुपमा लिएनन् । बरु उल्टै हाँसेर हामीलाई गिज्याए । कुनै लिखित जवाफ पनि दिएनन् । जो कर्मचारी आए पनि नो भिषा, नो फ्लाईट भनेर कानै पाक्ने गरी बारम्बार भनिरहन्थे । हामी इस्तामबुलबाट बल्ल ३ रातपछि काठमाडौं नेपाल आईपुगेका छौं ।

हामीले भौतिक सास्ती मात्रै होइन, मानसिक यातना पनि धेरै सहनु पर्यो । त्यो ३ रातमा हाम्रो परिवारका सदस्यले पनि धेरै चिन्ता व्यक्त गरे । एउटा एयरलायन्सको कर्मचारीका कारण नेपाल घुम्न आउने हामी जस्तो पर्यटकहरुलाई शुरुमै नराम्रो छाप पर्यो । तर, काठमाडौं ओर्लिएपछि ईस्तामबुलमा भएको घटना विस्तारै मानसपटलबाट हट्दै गएको छ ।

उनीहरु अन्नपूर्ण क्षेत्र भ्रमणका लागि डेढ महिनादेखि २ महिनासम्म घुम्नका लागि नेपाल आएका हुन् । ‘टर्किस एयरलायन्सका कर्मचारीहरुमा कुनै मानवियता छैन, हामीलाई ठूलै अपराधीलाई गरे जस्तो व्यवहार गरियो’ उनीहरुले एकै स्वरमा भने ।

नेपाल भ्रमणमा स्पानिस नागरिकहरु मारिया म्याग्डालेना, विलालोंगा क्विन्टाना, मार्टा फोर्नेस साल्वा, मारिया अरिजा मोरा, बर्टा म्यानुअल साबटर, अन्ना जुटग्लर कोलेल, पाउला गुरेरो कोमा र मारिया बिले भल्स छन् ।

हामी बार्सिलोनाबाट इस्तानबुल TK 1856 बाट आएका थियौं । इस्तानबुलबाट काठमाडौंको लागि अर्को उडान TK 0726, ६ जनवरी थियो, तर हामीलाई विमानस्थलमै भिषा नभएको भन्दै रोकियो मारिया म्याग्डालेनाले भने ।

टर्किस एयरलायन्सले विदेशी यात्रुहरुलाई मात्रै होईन । वैदेशिक रोजगारबाट नेपाल फर्किएका कयौं नेपाली यात्रुहरुलाई पनि ट्रान्जिटमा यस्तै व्यवहार गरेका घटनाहरु बेला बेलामा सार्वजनिक भैरहेका छन् ।

एयरलायन्सका कर्मचारीले अध्यागमनकाे काम गर्याे, जुन काम कानूनत: दण्डित छ: व्यवसायी शेर्पा

ईस्तामबुलमा टर्किस एयरलायन्सका कर्मचारीहरुले स्पानिस नागरिकलाई ३ दिनसम्म अलपत्र पारेकोप्रति पर्यटन व्यवसायी एवं अन्नपूर्ण ट्रेकिङ एजेञ्सीका प्रबन्ध निर्देशक कामी शेर्पाले आपत्ती जनाएका छन् । एयरलायन्सका कर्मचारीहरुले अध्यागमनका कर्मचारीहरुको काम गरेकाले कानूनत: दण्डित भएको निर्देशक शेर्पाले बताए ।

‘ट्रान्जिटमा रहेका यात्रुहरुसँग एयरलायन्सका कर्मचारीहरुले भिषा छ की छैन भनेर केरकार गर्ने होईन, यसरी केरकार गर्ने काम अध्यागमनका कर्मचारीहरुको हो’ पर्यटन व्यवसायी शेर्पाले भने, ‘एयरलायन्सका कर्मचारीहरुको काम त यात्रुको टिकट छ की छैन भनेर हेर्ने मात्रै हो ।’ व्यवसायी शेर्पाले नेपाल आउने पर्यटकहरुलाई कानून विपरित कार्य गर्ने टर्किस एयरलायन्सका कर्मचारीहरुलाई कारबाहि गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार