कोरिया जाने पर्खाइमा रहेकाहरुलाई छिटो लैजान मन्त्री श्रेष्ठद्वारा कोरियाली पक्षसँग आग्रह

  सगरमाथा अनलाईन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गर्नुभएको छ । मन्त्री श्रेष्ठले मन्त्रालयमा आज कोरियाको मानव संशाधन विकास बोर्ड ९एचआरडी० कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो संख्यामा नेपाली युवाहरु रहेकोले छिटो लैजाने वातावरण बनाउन आग्रह गर्नुभयो ।

मन्त्री श्रेष्ठले व्यवसायिक उडान खुला गरी छिटो पठाउने प्रवन्ध गर्न कोरियाली पक्षसँग आग्रह गर्नुभयो । अहिले चार्टर उडानमार्फत कोरिया लैजाने गरिएकोमा व्यवसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउनेछन् । एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको बताउनुभएको थियो । कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भएपनि महामारीका कारण समस्या भएको उहाँको भनाइ छ । विदेशी श्रमिक अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकोले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उहाँले बताउनुभयो । व्यवसायिक उडान खुला गर्न आवश्यक प्रकृया सुरु गरिएको जानकारी दिनुहुँदै उहाँले छिटो संचालन हुने विश्वास समेत दिलाउनुभयो ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुनस् खुला गरिएको थियो । करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना संक्रमणपछि ९ सय ८४ जना गइसकेका छन् भने आज १ सय ७४ जना जाँदैछन् । यसपछि मार्च १६ गते १ सय ७० जना जानेछन् । नेपालीहरु मेहनती र इमान्दार भएकोले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले बताउनुभयो । दक्षिण कोरिया जानका लागि सबै प्रक्रिया पूरा गरेका बाँकी युवालाई जतिसक्दो छिटो दक्षिण कोरिया लैजान मन्त्री श्रेष्ठले विभिन्न स्तरमा छलफल गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार