सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दुधकुण्डको वडा नं. ११ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा टंक कार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कार्कीले साविक तिङला गाविसलाई प्रतिनिधित्व गर्दै नेपाली कांग्रेस पार्टीबाट उम्मेदवारी दर्ता गरेका हुन् । अन्य वडा सदस्यहरुमा प्रेमकुमार राई, आङदावा शेर्पा, महिला सदस्य मिथिला खड्का र दलित महिला सदस्यमा शोभा दमाईले उम्मेदवारी दर्ता गरेका छन् ।
गएको तिनै तहको निर्वाचन बहिस्कार गरेको साविक तिङला गाविसका मतदाताहरु आउने निर्वाचनमा मतदान गर्न उत्साहित बनेका छन् ।

को हुन टंक कार्की
कार्की सोलु दुधकुण्ड नगरपालीका नेपाली कांग्रेसका यूवा नेता हुन् । उनी विद्यार्थी राजनीतिसँगै सक्रिय राजनीतिमा होमिएका थिए । विद्यार्थी राजनीतिबाट औपचारिक रुपमा राजनीति शुरु गरेका कार्की सोलु दुधकुण्ड नगरपालिकाको तरुण दल ईकाइ उपसभापतिहुँदै नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रिय प्रतिनिधी भएका थिए ।
उनी निर्माण व्यवसायी पनि हुन् । राजनीतिलाई समाज सेवाका रुपमा लिएका कार्कीले आम तिङला बासी नागरिकका लागि सेवकको रुपमा काम गर्ने घोषणा गरेका छन् ।
तल्लो सोलु जलविद्युत आयोजना ८२ मेगावाट र साहस उर्जाले ८६ मेगावाटको जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र भएकाले तिङलाबासीलाई निःशुल्क बिजुली र ५०० कित्ता बराबरको शेयर उपलब्ध गराउने वडा अध्यक्ष उम्मेदवार कार्कीको पहिलो एजेण्डा रहेको छ । त्यसैगरी शहरी अस्पताल बनाउने, प्राविधिक शिक्षा, विद्यालयमा अग्रेजी माध्यमबाट पढाई गराईने घोषणा गरेका छन् ।
सडक ट्रयाक खोलिएका क्षेत्रमा सडकको स्तोरोन्नती गरिने, सडक नपुगेको गाउँमा सडक खन्ने, तिङलाको भूगोल अनुसारको आधुनिकीकरण गरेर अगाडि बढ्ने र पशुपालनमा मासुजन्य एवं दुग्धजन्य पशुपालनमा जोड दिने कार्कीले घोषणा गरेका छन् ।







