बेलायत । किराँत राई यायोख्खा बेलायतले २०७९ सालको उभौंली पर्व आफ्नो प्रकृति पूजाको विधि अनुसार मनाएको छ । साकेला किराँत हाउस गेम्बर लाइनमा आयोजित कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा उभौली पर्व धुमधामसँग मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले बेलायत भन्दा पनि उभौंली साकेला मनाउन किराँत राज्यमै आएको महसुस भएको बताए । बेलायतमा आफ्नो धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्ने कार्य गरेकोमा मन्त्री कार्कीले प्रशंसा गरे ।
किराँतीहरूले आफ्नो रगत र पसिनाले सिञ्चित गरी इतिहास कोरेको भूमि प्रदेश नं १ मा पर्ने भएकाले किरात संस्कृति प्रदेशकै गौरवको विषय भएको बताउँदै कार्कीले किरात संस्कृति र वंशको जगेर्ना गर्न आफू सदा अग्रस्थानमा रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

यस्ता कार्यक्रमले पुस्ता हस्तान्तरण गरी आफ्नो वंश नेपाल र नेपाली संस्कृतिको शीर उच्च राख्ने कार्य गरेको बताउँदै उनले भने, ‘नेपालको इतिहास नै किराँत वंश हुँदै आएको हो । यहाँहरूले विश्व जगतमा पनि नेपाल र प्रदेश चिनाउने कार्यले हाम्रो शीर सगरमाथाभन्दा उच्चो बनाइदिनु भएको छ ।’
किरात राई यायोख्खा बेलायतले १४५ रोपनी जमिन आफै खरिद गरेको छ । सो ठाउँमा धनुष वाण सिक्ने जङ्गल, किरातीहरूको परम्परा अनुसार चूलो देखि साकेला नाच गर्न पुग्ने गरी जमिन रहेको छ । मन्त्री कार्कीले बेलायतमा बस्ने किरात राईहरूले आफ्नै पसिनाले खरिद गरेर नेपाल सरकारलाई समेत सकारात्मक सन्देश दिएको बताए ।
मन्त्री कार्कीले किरात संस्कृति अनुसार भूमि पूजनसमेत गरे । कार्यक्रममा काउन्सिलरका साथै डिपुटि मेयर समेत उपस्थित रहेको थियो । कार्यक्रमको अध्यक्षता किरात राई यायोख्खाका अध्यक्ष चन्द्रबहादुर राईले गरेका थिए । कार्यक्रममा बेलायतमा रहेका विभिन्न ३२ वटा सङ्घ संस्था तथा सङ्गठनका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।










