सोलुका तीन यूवा नेताः जसले पार्टीको शाख मात्र होइन, जनताको मन पनि जिते

स्थानीय सरकारको दोस्रो कार्यकालमा नाम्गेल, असिम र बुद्धिकिरण

  बुद्धवीर बाहिङ
6.6k Shares

सोलुखुम्बु । पछिल्लो समय हरेक तह र तप्कामा यूवाको भूमिका खोजिन थालेको छ । आम नागरिकले यूवाको भूमिका खोज्ने मात्रै होइन, कार्यान्वयन गर्दै अधिकांश यूवाहरुलाई महत्वपूर्ण भूमिकामा पुर्याएका छन् । त्यसैको नतिजा हो भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपालभर अधिकांश स्थानीय तहको नेतृत्वमा यूवा निर्वाचित भएका छन् ।

हिमाली जिल्ला सोलुखुम्बुमा पनि यूवा नेतृत्वले पार्टीको शाख मात्र होइन, जनताको मन जितेर स्थानीय सरकारको दोस्रो कार्यकालका लागि निर्वाचित भए । सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेलजाङ्बु शेर्पा, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई र माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई स्थानीय सरकारको दोस्रो कार्यकालका लागि जनताले पुनः निर्वाचित गराए ।

नाम्गेलजाङ्बु शेर्पा ‘ट्रयाक बाहिरको कांग्रेसलाई ट्रयाकमा’

शेर्पा नेपाली कांग्रेस सोलुखुम्बुका जिल्ला सभापति एवं सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख हुन् । लामो समयदेखि दुई समूहमा विभाजित सोलुको कांग्रेसलाई एकै समूहमा ल्याउन अधिकतम प्रयास गरिरहेका नेतृत्व हुन् । अर्थात ट्रयाक बाहिर हिडिरहेको पार्टीलाई ट्रयाकमा ल्याउन सफल नेतृत्व दिने यूवा नेता हुन् ।

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा तेस्रो भएको नेपाली कांग्रेसलाई शेर्पाले जिल्लाको नेतृत्व सम्हालेपछि भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो बनाए । ०७४ को स्थानीय निर्वाचनमा एक प्रमुख र तीन उपाध्यक्ष मात्र जितेको कांग्रेसले, शेर्पाले जिल्लाको नेतृत्व सम्हालेको ५ महिनामै ५ वटै स्थानीय तहमा प्रमुख, उपप्रमुख जिताएर जिल्लाको पहिलो पार्टी बनाए । एक नगरपालिका र सात गाउँपालिकासहित ८ स्थानीय तह भएको सोलुखुम्बुमा जिल्ला समन्वय समितिमा एक्लै बहुमत ल्याएर कांग्रेसले जिल्ला समन्वय समिति समेत गठन गरिसकेको छ । दोस्रो कार्यकालका लागि नगरपालिका प्रमुख समेत निर्वाचित भएका शेर्पाले पहिलो कार्यकालमा बाँकी रहेका महत्वपूर्ण काम गर्ने बताएका छन् ।

असिम राई ‘लोभलाग्दो संगठन विस्तारको काम’

राई नेकपा माओवादी केन्द्र सोलुखुम्बुका अध्यक्ष एवं थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष हुन् । उनी जिल्लाको सबैभन्दा ठूलो गाउँपालिकामा दोस्रो कार्यकाल निर्वाचित भएका छन् ।

माओवादीको जिल्ला संगठन अफ्ठ्यारोमा परेका बेला राई जिल्ला फर्किएर संगठन विस्तारमा लागेका थिए । राई जिल्ला कमिटि सदस्य, जिल्ला सचिव हुँदै हाल जिल्ला अध्यक्ष छन् । वि.सं. ०७४ को स्थानीय तहको निर्वाचनमा दोस्रो भएको माओवादी केन्द्र भर्खरै सम्पन्न निर्वाचनमा तेस्रो स्थानमा झरेको छ । अघिल्लो निर्वाचनमा ३ स्थानीय तह जितेको माओवादी यसपालि भने एक स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र एक स्थानीय तहमा उपाध्यक्ष मात्र जितेको छ ।

अघिल्लो निर्वाचनमा जित हासिल गरेको पालिकामा जित हासिल गर्न नसक्नुलाई माओवादी केन्द्र सोलुखुम्बुको नेतृत्वले प्राविधिक हार मात्र भएको बताएको छ । तर, जिल्लाभरिको सांगठनिक स्वरुपलाई हेर्ने हो भने, पहिलेको तुलनामा अहिले चलायामान र मजबुत संगठन बनेको माओवादीको निष्कर्ष छ ।

राईले माओवादी केन्द्रको नेतृत्व सम्हालेपछि जिल्लामा दरिएका विभिन्न पार्टीका नेताहरु माओवादीमा प्रवेश गराएका छन् । राईले गरेका लोभलाग्दो संगठन विस्तारको काम र जनप्रिय कार्यसम्पादनले छोटो समयमै बेग्लै राजनैतिक छवि बनाएका छन् ।

बुद्धिकिरण राई ‘एमालेको एक्लो बृहस्पती’

राई नेकपा एमाले सोलुखुम्बुका जिल्ला कमिटि सदस्य एवं माप्य दुधकोशी गाउँपालिका अध्यक्ष हुन् । उनी माप्य दुधकोशीमा दोस्रो कार्यकालको लागि भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा पहिलो बनेको नेकपा एमाले ०७९ को निर्वाचनमा दोस्रो भएको छ । अघिल्लो निर्वाचनमा चार पालिका जितेको एमाले यसपालि दुई पालिकामा मात्र विजयी हासिल गरेको छ ।

०७२ देखि क्रियाशील राजनीतिमा लागेका राई दुई वर्षपछिनै माप्य दुधकोशी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । राई विद्यार्थी राजनीति, शिक्षक संगठनको राजनीतिहुँदै क्रियाशील राजनीतिमा होमिएका थिए । नेकपा एमालेमा तत्कालिन माधव नेपाल समूहमा खुलेका राई, अन्ततः एमालेमै रहेर राजनैतिक संघर्षमा खरो उत्रिए । विभिन्न परिस्थितिलाई सहजै लिन सक्ने उनको बानीले उनी एमालेको एक्लो बृहस्पती भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार