४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

थुलुङदुधकोशीको पहिलो कार्यपालिका बैठक सम्पन्न, बजेट क्यालेण्डर निर्माण



सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धि क्यालेण्डर निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आज सम्पन्न कार्यपालिकाको पहिलो बैठकले विभिन्न समिति निर्माण संगै आर्थिक वर्ष ०७९÷८० को बजेट क्यालेण्डर निर्माण गरेको हो ।

बजेट क्यालेण्डर अनुसार जेठ ३१ गते राजश्व परामर्श सेवा र असार २ गते स्रोत अनुमान तथा बजेट निर्माण समितिको बैठक बस्ने भएको छ । यस्तै, असार ३, ४ र ५ गते बस्ती टोल स्तरबाट योजना छनौट गर्ने, ७ गते वडा स्तरीय योजनाहरुको प्राथमिकिकरण, ९ गते एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा साथै कार्यपालिका बैठक र १० गते गाउँसभा बस्ने निर्णय गरिएको छ ।

सोही बैठकले वडा नं. ७ का वडा अध्यक्ष भोजराज कार्कीलाई गाउँपालिकाको प्रबक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसैबीच, आजै सम्पन्न उक्त बैठकले गाउँपालिकाको कार्यसम्पादन नियामवली एवम् बजेट तर्जुमा दिगर्दशन २०७४ बमोजिम विभिन्न समिति गठन गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको संयोकत्वमा सात सदस्यीय स्रोत अनुमान तथा बजेट सिमा निर्धारण र उपाअध्यक्ष सविता राईको संयोजत्वमा पाँच सदस्यीय राजश्व परामर्श समिति गठन गरेको हो ।

यस्तै, अन्य आठ वटा विषयगत समिति समेत गठन गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । वडा नं. ८ का वडा अध्यक्ष राजेश राईको संयोजत्वमा आर्थिक विकास समिति, वडा नं. ७ का वडा अध्यक्ष भोजराज कार्कीको संयोजकत्वमा सार्वजनिक सेवा प्रभाह तथा क्षमता विकास समिति, बुद्धिराज राईको संयोजकत्वमा सामाजिक विकास समिति, घनराज सुनवारको संयोजकत्वमा पुर्वाधार विकास समिति, युजन बस्नेतको संयोजकत्वमा वातवरण तथा विपद् व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै, महेन्द्र राज राईको संयोजकत्वमा विद्येयक समिति, इन्द्रमणी दहालको संयोजकत्वमा लेखा समिति र गाउँपालिका उपाअध्यक्ष सविका राईको संयोजकत्वमा न्यायिक समिति वठन गरिएको प्रबक्ता कार्कीले जानकारी दिनुभयो ।

यस्तै आजै सम्पन्न बैठकले आर्थिक वर्ष २०७९÷०८० को बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धि क्यालेण्डर निर्माण गरिएको छ । सोही बैठकले बर्खाको समयमा सहजरुपमा सवारी सञ्चालनको लागि गाउँपालिका भित्रको मुख्य सडक सरसफाई गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १ : २२ बजे