माप्य दुधकोशीमा ग्रामिण विद्युतीकरणको काम शुरु भएपछि स्थानीयमा खुशि छायो

  सगरमाथा अनलाईन

सोलुखुम्बु । जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा ग्रामिण विद्युतीकरणको काम शुरु भएपछि स्थानीय बासिन्दा खुशि भएका छन् । ग्रामिण विद्युतिकरणको लागि औपचारिक रुपमा प्राविधिक टोली खटिएपछि स्थानीय बासिन्दाहरु खुशि भएका हुन् ।

पहिलो चरणमा राष्ट्रिय प्रशारण लाईन जोड्नका लागि डिटेल सर्भे गर्ने प्राविधिक टोली गाउँपालिकाको वडा वडामा पुगेका छन् । बुधबार गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष गौरब राई र उपलब्ध जनप्रतिनिधिहरुको बैठक बसेर सर्भेका लागि सम्बन्धित वडाका जनप्रतिनिधिहरुले सहजीकरण गर्ने निर्णय गरी काम अघि बढाइएको हो ।

सोलुखुम्बु जिल्लाबाट निर्वाचित तत्कालिन संघीय सांसद हेमकुमार राई ‘सुरबीर’द्धारा घोषित उज्यालो सोलुखुम्बु अभियानमार्फत ग्रामिण विद्युतीकरणको कार्यक्रम अघि बढेको थियो । सोका लागि १ अर्ब ५९ करोड ७२ लाख बराबरको टेन्डर प्रकृया गते असोज १३ गते सकिएको थियो ।

१८ महिनाभित्र सिंगो जिल्लाको ग्रामिण विद्युतीकरणको काम सम्पन्न गर्नेगरी टेण्डर प्रक्रियालाई अन्तिम रुप दिइएको हुनाले माप्य दुधकोशी गाउँपालिकामा पनि अब चाँडै यो कामले पूर्णता पाउने विश्वास लिइएको छ ।

माप्य दुधकोशी गाउँपालिकामा विद्युतको एकदमै समस्या भएकाले ग्रामिण विद्युतीकरणको कामलाई जतिसक्दो चाँडो सक्नुपर्ने गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताए । अध्यक्ष राईले गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सबैखाले सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै गाउँपालिकालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेका छन् ।

२०७६ सालमा सोलुखुम्बु जिल्लामा विद्युत वितरण केन्द्र स्थापना गरिएको थियो । त्यसयता ग्रामीण विद्युतीकरण अन्तर्गत करोेडौंको काम सम्पन्न भएका छन् । सोलु करिडोर आयोजनामार्फत हालसम्म ४ हजार भन्दा बढी घरमा राष्ट्रिय प्रशारण लाईन जडान भएको छ, भने देउसा र खुम्बुमा ३३ के.भी. सबस्टेसन निर्माणको प्रक्रिया पनि अगाडि बढिसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार