पेलेको आज अन्त्येष्टि गरिंदै, अन्तिम श्रद्धाञ्जली दिन हजारौंको भीड

70 Shares

काठमाडौं । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ ।

पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए । उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सो अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको रंगशालामा लगिएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको लामो लाइन लागेको छ । उनका प्रशंसकहरु दुई घण्टा भन्दा बढी समयसम्म लाइनमा बसेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

रंगशालाको नाम पेलेको नामबाट राख्न फिफा सदस्य राष्ट्रलाई आग्रह

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि पेलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली अर्पणपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले फिफाले पेलेलाई उच्च सम्मान गर्ने बताए । साथै उनले फिफाका सदस्य राष्ट्रहरुलाई कम्तिमा एउटा रंगशालाको नाम पेलेको नामबाट राख्न आग्रह गरे ।

पेलेको वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो हो । २४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको अन्तिम संस्कार गरिने छ । अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाको पनि सहभागिता रहने समाचार एजेन्सीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार