एकै रथका दुई पाङ्ग्रा जसरी हिड्ने शेर्पा र निरौला एक अर्काको सिङ भाँच्ने अवस्थामा किन पुगे ?

  सगरमाथा अनलाईन
17.2k Shares

काठमाडौ । आइतबार साँझ ठिक पौने ८ बजे सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले आफ्नो फेसबुकमा चेतावनी दिदै लेखे ‘चिराइतो खेतीको नाममा नक्कली बिल भर्पाई पेश गरी कृषि मन्त्रालयको करोडौ अनुदान रकम हिनामिना भएको हुँदा त्यसको अनुगमन तथा छानबिनको लागि पत्रकार टोली सहित स्थलगत निरिक्षण गर्ने निर्णय गरियो ।’

मेयर शेर्पाको स्टाटस मात्र पढ्नेका लागि उक्त चेतावनी को प्रति लक्षित थियो भन्ने भेउ पाउन अलि गाह्रै थियो । तर जसले घटना क्रमहरुलाई नजिकबाट नियालिरहेका थिए, उनीहरुलाई भने यो कुरा बुझ्न खासै गाह्रो थिएन ।

त्यसैले मेयरको स्टाटसमा भटाभट धेरैले कमेन्ट गर्न थाले ‘यो तिजको दरले ज्वरो आएर चिराईतो खोज्नु पर्ने भयो अब नगरपालिकामा ।’

‘यो भन्दा अगाडि चिराईतो गुलियो थियो जस्तो छ अब थाहा हुने भयो चिराईतोको स्वाद । किवी,आलु,बाख्रा,कुखुरा,माछा सबैको अनुगमन हुनु आवश्यक छ ।’

मेयर शेर्पाको स्टाटस अन्य कसैको लागि नभई बेला बेलामा विवादमा तानिरहने व्यक्ति भानुभक्त निरौला प्रति केन्द्रित थियो । निरौला तिनै व्यक्ति हुन्, जो कहिले १२ डिग्री सेल्सियस तापक्रम सहन नसकेर नाम्चेका मानिस बाहिर निस्कन सकेनन् भन्ने हास्यास्पद समाचार लेखेर चर्चामा आउँछन् । घरी हुरीले लडाएको रेडियोको टावरमा स्थानीयले क्षति पु¥याएको भन्दै सोझा सीधा व्यक्तिलाई फसाउन खोजेर आलोचना बटुल्छन् ।

अनि कहिले हुँदै नभएको रेडियोको नाम भजाएर विज्ञापनदातालाई झुटो विवरण पेश गर्छन् । सरकारी सञ्चार माध्यमका टावरहरुमा अनुमति बिनै आफ्नो इन्टरनेटका तार झुण्ड्याएर सरकारी सम्पत्तिको अपचलन गर्छन् ।

यी र यस्ता थुप्रै अनियमिततामा मुछिएका निरौला उक्त दिन मेयर शेर्पाको समेत निशानामा परे । ‘मन मिले मेल हजुर नमिले झमेला’ भन्ने गीत यी दुई व्यक्तिको सम्बन्धमा समेत सार्थक बन्यो ।

भएको के थियो ?

हिमाल एफ.एम.को फेसबुक पेजमा निरौलाले सोही दिन ५ बजेर ३१ मिनेटमा ‘तीजको दरको नाममा राज्यकोषको लाखौ रकम स्वाह’ शीर्षकमा भिडियो रिपोर्ट प्रकाशन गरे ।

७ मिनेट लामो उक्त भिडियोमा राज्यको रकम भोजभत्तेरमा खर्च गरेर तीज जस्तो सांस्कृतिक पर्वलाई भड्किलो बनाउन प्रश्रय दिएको, सीमित व्यक्तिको राजनीतिक अभीष्ट पूरा गर्न सरकारको ढुकुटी खर्च गरेको र समस्याले जेलिएका नारीहरु माथि चरम उपेक्षा गरिएको उल्लेख थियो ।

उनले उक्त रिपोर्टमा सोलु दुधकुण्ड नगरपालिकाका मेयर शेर्पाले नेचा सल्यान गाउँपालिकामा लाइनमा उभिएर प्लेट समातिरहेको र उपमेयर गान्धी माया तामाङ लगायत महिलाहरु नाचिरहेको भिडियो जुम गरी गरी देखाएका थिए ।

नगरपालिकाको नजिकै आयोजना गरिएको उक्त कार्यक्रममा सदरमुकाम र आसपासका महिलाहरुको बाक्लो उपस्थिति देखिन्थ्यो ।

मेयर शेर्पाले स्टाटस हालेको १ घण्टा पछि अर्थात ८ बजेर ४७ मिनेटमा भानुभक्त निरौलाले पनि फेसबुकमा लेखे ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किदै गर्छ, सबैको जय होस् शुभरात्री ।’

निरौलाको यो स्टाटसले भने एक घण्टा अगाडि मेयरले लेखेको स्टाटस निरौला प्रति नै लक्षित रहेछ भनेर बुझ्न सबैलाई सजिलो बनाईदियो ।

फेसबुकमा निरौला र मेयरका पक्ष र विपक्षमा धेरै कमेण्टहरु लेख्ने क्रम जारी थियो । मंगलबार बिहान मेयर शेर्पाको अर्को पनि स्टाटस आयो ‘हिमाल एफ एम भित्रको चरम भ्रष्टाचार, श्रम शोषण देखि यौन शोषण र अनैतिक सम्बन्ध सम्मको कुरा पो आउन थाल्यो त, राष्ट्रको चौथो अंग मिडियाको बदनाम नै गर्यो बांदरहरूले ।’

त्यसपछि भने मेयर शेर्पा र निरौला बीचको विवाद सतहमा छताछुल्ल भयो ।

यस्ता विषयको अध्ययन गरेर सत्य तथ्य कुरा सार्वजनिक गर्नुपर्ने र स्टाटस लेखेर जुहारी खोजेर बस्न नहुने भन्दै मेयर शेर्पालाई सचेत समेत गराएका छन् ।

यथार्थ के हो ?

मेयर शेर्पासँग चिढिएका निरौला कसरी मेयरको खोइरो खन्न सकिन्छ भनेर दाउ हेरेर बसिरहेका थिए । ‘कहाँ बाट निहुँ पाऊँ कनिका पोखाउ’ झैं गरेर दाउ हेरेर बसेका निरौलाले निहुँ पाए ‘तीज कार्यक्रम’ तीजमा धेरै महिलाहरु भेला भएको देखेपछि त्यसैलाई बिषय बनाए र यसलाई सघाउ पुग्ने किसिमका दुई चार महिलाहरुको बाईट लिएर अन्तुष्टि पोख्न लगाए । तर नगरपालिकाको तर्फबाट भने कसैलाई केही सोधेनन् ।

यथार्थ के रहेछ भने सांस्कृतिक पर्व तीजलाई संरक्षण गर्ने उद्देश्यले नगरपालिकाले खुल्ला नृत्य तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको रहेछ । कार्यक्रममा विभिन्न ठाउँबाट १४ वटा टिम दर्ता भई प्रतियोगितामा सहभागिता जनाएको नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कोपिला राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

तर निरौलाले यो पाटोलाई भने पूरा गुपचुपमा राखी दर्शक तथा पाठकलाई भ्रम छरिरहे । किनकि उनलाई मेयर शेर्पाले राज्य कोषको दुरुपयोग ग¥यो भन्ने पार्नु थियो ।

विज्ञप्तीमा जनाए अनुसार खुला नृत्य प्रतियोगिताको प्रथम, द्धितिय र तृतीय पुरस्कार, कार्यक्रमका सहभागीलाई चिया खाजा र पुरस्कार तथा जिल्ला कारागार सोलुखुम्बुका महिला कैदीबन्दीका लागि टेलिभिजन र फलफूल खरिद गरी कुल १ लाख २ हजार रुपैयाँ खर्च भएको छ ।

निरौला जी, अब प्रश्न उठ्छ । नगरपालिकाले हिन्दु नारीहरुको पर्व तीजको संरक्षण संबर्द्वन नगर्नु ? स्थानीय कला संस्कृतिको जगेर्ना नगर्नु ? अनि कारागारमा कैदी बन्दी जीवन विताईरहेका महिलाहरुले टेलिभिजन हेर्न नपाउनु ?

यस अघि सामाजिक सञ्जालमा एक अर्का बीच बडो सौहार्द्रता प्रस्तुत गर्दै आएका यी दुई जना बीच के कत्ति कारणले तिक्तता उत्पन्न भयो ? त्यो त विस्तारै खुल्दै जालान् ।

निरौलाले आफूलाई ठूलै आर्थिक लाभ हुने विषयमा मेयर समक्ष राखेको ठूलै प्रस्ताव इन्कार गरेपछि यी दुई बीच शीतयुद्धको अवस्थामा पुगेको निकट स्रोतको दाबी छ ।

हेर्नुहोस विज्ञप्तीः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार