गाउँपालिका अध्यक्षको स्वेछाचारी कदमको विरुद्धमा वडा १ को सेवा ठप्प

कार्यपालिका बैठकबाट समस्याको समाधान गर्छौः अध्यक्ष शेर्पा

  सगरमाथा अनलाईन
945 Shares

सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामुु गाउँपालिका वडा नं. १ खरिखोलाको सेवा १५ दिनदेखि ठप्प भएको छ । गाँउपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाको स्वेछाचारी कदमको विरुद्धमा वडाको सेवा १५ दिनदेखि ठप्प पारिएको हो ।

गाउँपालिकाले वडा नं. १ लाई निर्वाचित भए लगत्तै विभेदपूर्ण व्यवहार गर्दै आएकाले १ वर्षभन्दा धेरै समयमा पनि गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पाले राजनैतिक प्रतिशोधका कारण हरेक विकासे काममा विभेद गरेको भन्दै वडा नं. १ का जनप्रतिनिधिले निर्णय नै गरेर अनिश्चित कालका लागि वडाको सबै सेवा ठप्प पारेका हुन् । वडाका सबै जननिर्वाचित प्रतिनिधिहरुले वडा समितिको बैठक बसी गाउँपालिकाको विभेदपूर्ण र राजनैतिक प्रतिशोधमूलक व्यवहारप्रति खेद प्रकट गर्दै सम्मान जनक व्यवहार नभएसम्म वडाको सबै कामकाज ठप्प पार्ने निर्णय गरेको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष फुनुरु शेर्पाले बताए ।

‘हामीलाई वडा कार्यालयबाट दिइने सम्पूर्ण सेवाहरु ठप्प पारेर आन्दोलन गर्नु पर्दा साह्रै दुःख लागेको छ,’ वडा अध्यक्ष फुनुरु शेर्पाले भने, ‘तर गाउँपालिका अध्यक्षको स्वेछाचारी कदम र राजनैतिक प्रतिशोधका कारण हामीलाई गरिने विभेदपूर्ण व्यवहारको जति कडा आलोचना गरे पनि कमै हुन्छ ।’

वडा नं. १ का सबै जनप्रतिनिधीले सेवा ठप्प पारेर आन्दोलन गरिरहे पनि गाउँपालिकाले अहिलेसम्म कुनै चासो र सरोकार राखेको छैन । वडा नं. १ प्रति गाउँपालिका अध्यक्षको हेर्ने दृष्टिको के हो भन्ने विषय १५ दिनसम्म पनि कुनै प्रतिक्रया नदिनुले प्रष्ट हुन्छ । ‘गाउँपालिका अध्यक्षले पठाएको वडा सिलिङको आधिकारिक पत्रमा तोकिएको बजेट एक्कासी मौखिक रुपमा घटाइन्छ भने त्यो कहाँको नियम हो,’ वडा अध्यक्ष शेर्पाले भने, ‘म गाउँपालिका अध्यक्षलाई चुनौती दिन चाहन्छु, घटेर पठाएको वडा सिलिङको आधिकारिक पत्र खै ?’

गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले वडा नं. १ का जनप्रतिनिधीहरुले लगाएको सबै आरोप झुट्टो भएको प्रतिक्रिया दिएका छन् । सगरमाथा अनलाईसँग कुराकानी गर्दै अध्यक्ष शेर्पाले वडाको विकासमा कुनै विभेद नगरेको पनि बताएका छन् । वडा नं. १ को समस्या अबको कार्यपालिका बैठकबाट गरिने पनि गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार