
सोलुखुम्बु । जिल्लाको अग्रणी सामाजिक संस्था द स्मल वल्र्ड (टिएस डब्लु)ले ‘महिनावारी स्वच्छता’ अभियान शुरु गरेको छ । सोलुखुम्बु जिल्लाको सदरमुकाम स्थित सोलुदुधकुण्ड नगरपालिका–६ थातिङमा एक कार्यक्रमको आयोजना गरि अभियानको सुरुवात गरिएको हो ।
जिल्लाको शैक्षिक र भौतिक पूर्वाधारमा लामो समयदेखि विभिन्न कामहरु गर्दै आएको संस्थाले पहिलो पटक स्वास्थ्य क्षेत्र अन्तर्गत ‘महिनावारी स्वच्छता’ अभियान कार्याक्रम शुरु गरेको टिएस डब्लुका संस्थापक कर्मा शेर्पाले बताए । ‘समाजलाई स्वास्थ्य क्षेत्रमा थप जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै महिला स्वास्थ्यको बारेमा चेतना जगाउनको लागि संस्थाले यो कार्यक्रम सञ्चालन गरेको हो ।’ संस्थापक शेर्पाले भने, ‘महिलाको मासिक रुपमा हुने महिनावारी सम्बन्धी विभिन्न नकारात्मक धारणा हटाई सकारात्मक जनचेतना जागाउनु नै अभियानको मुख्य उद्देश्य रहेको छ ।’
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले महिनावारी अभिशाप नभई बरदान भएकाले लजाउनु वा धक मान्नुपर्ने विषय नभएको बताउएका छन् । ‘महिलाको स्वास्थ्यसँग जोडिएको विषय भएकाले महिनावारीको सरसफाइ तथा स्वच्छतामा ख्याल गर्नुपर्छ ।’ प्रजिअ पाण्डेले भने, ‘महिनावारी हुँदा कसैसँग अफ्ठ्यारो नमानीकन आफ्नो स्वास्थ्यको राम्रो हेरविचार गर्नुपर्छ ।

संस्थाका कार्यकारी निर्देशक सनम शेर्पाले प्रजनन स्वास्थ्य महिलाको अधिकार भएकाले यसबारे खुलेर कुरा गर्न आग्रह गरे । महिला र महिनावारी बिना सृष्टि अधुरो हुने भएकाले महिनावारीलाई उत्सवको रुपमा लिनुपर्ने शेर्पाको भनाइ छ ।
कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत छात्राहरु, शिक्षिका, स्थानीय लगायतको उपस्थितीमा शुरु भएको अभियानमा जनचेतनामुलक प्लेकार्डसहित ¥याली गरी दलित बस्ती परिक्रमा गरिएको थियो । हिमाली जिल्ला सोलुखुम्बुबाट शुरु भएको उक्त अभियान जिल्लाको ग्रामिण भेगसहित देशभर विस्तार गर्ने संस्थापक शेर्पाले बताए ।








