३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

कांग्रेस नेता र प्रधानमन्त्री प्रचण्डको छलफल सकारात्मक



काठमाडौं । सदनको गतिरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ ।

छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका हुन् । छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता लेखकले भने, ‘हामीले हाम्रो पूर्व अडान राख्यौं, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

नेपाली कांग्रेसका नेताहरूले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरोध गर्दै आएको छ । आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई छलफलका लागि बालुवाटारस्थित निवासमा बोलाएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ५ : १४ बजे