प्रदेशको लगानीले विकासको अनुभूति गर्दै हिमाली भेग

  विवश कुलुङ राई
161 Shares

विवश कुलुङ राई, सोलुखुम्बु । मुलुक संघीयतामा गएपछि दुर्गम र पछाडि पारिएको क्षेत्रले पनि विस्तारै विकासको अनुभूति गर्न थालेको छ । कोशी प्रदेश सरकारले हिमाली जिल्ला सोलुखुम्बुको पूर्वाधार विकासलाई पनि प्राथमिकता दिएर काम अगाडि बढाएको छ ।

संघीय सरकारको नजरबाट टाढा रहेको हिमाली जिल्लामा सडक तथा पुल निर्माण र स्तरोन्नति, प्रशासकीय संरचना निर्माण, कृषि तथा सिँचाइका पूर्वाधार निर्माणको काम प्रदेश सरकारको बजेटबाट भइरहेका छन् ।

कोशी प्रदेशसभाको पहिलो कार्यकालमा दर्जनौं आयोजना निर्माण थालिएकोमा कतिपय पुरा भएका छन् भने कतिपय पुरा हुने क्रममा छन् । विगत ५ वर्षको अवधिमा सोलुखुम्बुको ८ वटै स्थानीय तहमा विभिन्न भवन, सभाहल, पुस्तकालय, बजार क्षेत्रको ढल व्यवस्थापन, सडक, पुल र ट्रस्टजस्ता आयोजनाका काम भएका छन् ।

मध्यमस्तरीय सयौं आयोजनाहरू निर्माण भइसकेका छन् भने क्रमागत र बहुवर्षे आयोजना निर्माणाधीन छन् । पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार पछिल्लो ६ वर्षको अवधिमा सोलुखुम्बुमा ३ वटा बहुवर्षीय आयोजना सम्पन्न भइसकेका छन् । निर्माण सम्पन्न भएका आयोजनामा ३ करोड २५ लाख ८८ हजार लागतको खहरे खोला नेता बेतघारी पुल, ४ करोड ६४ लाख १५ हजार लागतको चुर्पघाट मोटरेबल पुल र ३ करोड ११ लाख ५३ हजार लागतको सेलगुडी डाँडादेखि काकुको महावीर ठूलढुङ्गासम्मको सडक छन् ।

कार्यालयका अनुसार जिल्लामा २६ करोड ६९ लाख ७० हजार रुपैयाँ लागतमा नेले तुम्से खनियाखर्क हुँदै खोटाङको एसेलुखर्क जोड्ने सडक २०७९ सालदेखि निर्माणाधीन छ । यस्तै तामाखानी–सोलुदूधकुण्ड सल्लेरीदेखि लिखुपिकेको काफ्ले चौरसम्मको सडक पनि निर्माणको क्रममा छ । सो आयोजनाको लागत २१ करोड २३ लाख ९३ हजार ८३५ रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

उदयपुरको बेलटारबाट सोलुखुम्बुको गुदेल हुँदै सदरमुकाम सल्लेरी जोड्ने सडकको ७ करोड ४१ लाख ७१ लागतमा ट्रयाक खोल्ने काम भइरहेको छ । २०७६ साल कात्तिकदेखि निर्माण सुरु भएको ४ करोड ४४ लाख ७५ हजार बराबरको पिखुखोलाको पुल निर्माणधीन रहेकोमा म्याद सकिएकोले म्याद थप्ने तयारी भइहरको छ ।

शहरी विकास तथा भवन कार्यालयका सूचना अधिकारी युवराज गिरीका अनुसार सोलुखुम्बुमा ७ वटा आयोजना निर्माण सम्पन्न भएको छ भने २ वटा आयोजना निर्माणाधीन छन् । निर्माण सम्पन्न भएका आयोजनामा १ करोड ९४ लाख ६० हजार लागतको प्रहरी चौकी नुनथला, १ करोड ४७ लाख २४ हजार लागतको प्रहरी चौकी मुक्लीको काम सम्पन्न भइसकेको छ । यस्तै इलाका प्रशासन कार्यालय सोताङ, घरेतु तथा साना उद्योग विकास कार्यालय, कर्मचारी आवास सल्लेरी र चेतना विस्तार पुस्तकालय नेचा रहेको छ । २ करोड २० लाख ७३ हजार बरारबरको खुम्बु पासाङल्हमु सभाहल र ४ करोड १६ लाख १७ हजार लागतको सोताङ बजारको ढल व्यवस्थापनको काम चलिरहेको कार्यालयका सूचना अधिकारी गिरीले सगरमाथा अनलाइनलाई जानकारी दिए ।

इलाका प्रहरी कार्यालय सोताङको भवनमा ३ करोड १९ लाख ८१ हजार लागत लागेको थियो । सो प्रहरी चौकीको भवन २०७६ असारदेखि २०७७ पुससम्ममा निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

दुर्गम क्षेत्रमा रहेका प्रहरी चौकीमा आवासको समस्या हुँदा जनताको सुरक्षामा खटिएका प्रहरी आफैं असुरक्षित थिए । तर, कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले साढे २ तले भवन बनाइदिएपछि अहिले सहज भएको प्रहरी चौकी मुक्ली प्रहरी वरिष्ठ नायव निरीक्षक वेगेन्द्र कार्कीले बताए ।

पहिला आफ्नो भवन नहुँदा बस्न र सुत्ने ठाउँको समेत अभाव थियो भने हिरासत कक्ष थिएन । तर, प्रदेश सरकारले ९ कोठे भवन बनाइदिएपछि हाल सहज भएको छ । उनका अनुसार प्रहरीको भौतिक संरचना व्यवस्थित हुँदा काम गर्ने मनोबलसमेत उच्च हुन्छ । विगतमा शौचालयको समस्या थियो भने अहिले हिरासत कक्षसमेत बनेको छ । यसले गर्दा सेवा प्रबाहमा सहजता छ ।

मन्त्रालयको सहयोगमा बहुवर्षीय आयोजना अन्तर्गत जिल्लामा ३ वटा प्रहरी चौकीले आफ्नै भवन पाएको छ । भाडाका घरमा हुँदा प्रहरी चौकी नै असुरक्षित थियो । भाडाको घरमा हुँदा प्रहरी कर्मचारीले सास्ती व्यहोर्दै सेवा प्रवाह बाध्य थिए । भवन अभावमा कार्यालय व्यवस्थापन गर्न समस्या थियो । तर, मुक्ली प्रहरी चौकीको व्यवस्थित भवन बनेसँगै कामकाज तथा नागरिकको सेवा प्रवाहमा सहज भएको वरिष्ठ प्रहरी नायव निरीक्षक कार्कीको भनाइ छ ।

प्रहरीले जस्तै धेरै स्थानीयले प्रदेश सरकारबाट बनेको विकास निर्माणका कारण हिमाली जिल्लामा राहत महशुस गरेका छन् । चाचालुङका व्यवसायी कमलराज कुलुङका अनुसार दिप्लीघाटस्थित दूधकोशी नदीमा पुल नहुँदा ढुवानीमा धेरै समस्या थियो । पुल नभएकै कारण भरिया लगाउँदा व्यवसायीलाई समस्या थियो भने स्थानीयहरु मारमा पर्थे । दिप्लीघाटमा पुल बनेसँगै संघीय राजधानीसँग सिधै जोडिँदा ढुवानीमा सहजसँगै सामान सस्तिएको छ । दिप्लीमा पुल बनेसँगै सोताङ र महाकुलुङमा खाद्यान्नलगायतका अतिवश्यक दैनिक उपभोग्य सामग्री सस्तो भएको व्यवसायी कुलुङको भनाइ छ ।

कोशी प्रदेश सरकारले आफ्नो गाउँपालिकामा गरिरहेको विकास निर्माणको काम सन्तोषजनक रहेको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राई बताउँछन् । थुलुङ दूधकोशीमा मात्र हालसम्म कोशी प्रदेशले करिब १०० करोड लगानी गरेको छ । जसमा अधिकांश निर्माण सम्पन्न भएका छन् भने कुनै योजनाहरू निर्माणाधीन छन् ।

कोशी प्रदेशका पूर्वसांसद उत्तमकुमार बस्नेत आफू प्रदेश सांसद हुँदा सुरु भएको योजना सम्पन्न भएपछि सोताङ र महाकुलुङ गाउँपालिकाका स्थाानीयले बाह्रै महिना सडक सञ्जालसँग जोडिन पाएको बताउँछन् । दिप्लीमा ट्रष्ट ब्रिज बनाउनका लागि आफूले धेरै मेहनत गरेको उनले बताए । उनका अनुसार सडक विभागले प्रदेशमार्फत ट्रष्ट सार्न मिल्दैनथ्यो । तर, तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र मुख्यमन्त्री शेरधन राईको सहयोगमा भक्तपुरको एउटा खोलाका लागि टेन्डर प्रक्रिया गरिसकिएको जयराम घाटको ट्रष्टब्रिज सोलुखम्बुको दिप्ली घाटस्थित दूधकोशी नदीमा सारिएको थियो ।

जयराम घाटमा स्थायी पुल बनेपछि भक्तपुरको एउटा खोलाका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको पुल आफ्नो निरन्तर पहलमा सोलुको दूधकोशीमा लैजान सफल भएको पूर्वसांसद बस्नेतको भनाइ छ । सो पूल ढुवानीको काम आफ्नो सांसद विकास कोष र प्रदेश सरकारकव् लगानीमा गरिएको जानकारी दिँदै उनले जडानको काम सोताङ र महाकुलुङ गाउँपालिकाले गरेको बताए ।

पूर्वसांसद बस्नेतका अनुसार त्यस अघिसम्म हिउँदमा ती दुई गाउँपालिकामा गाडी पुगे पनि वर्षातमा सम्बन्धविच्छेद हुनुपर्ने बाध्यता थियो । त्यही बाध्यतालाई मध्यनजर गर्दै आफूले महाकुलुङ र सोताङका स्थानीयको सहजताको लागि सो काम सम्पन्न गरेको उनले जानकारी दिए ।

मोटरेबल पुल र झोलुङ्गे पुल निर्माण पनि धेरै भएको बस्नेतले बताए । उनका अनुसार त्यसबेला सुरु भएका कुनै पुल निर्माण भइसकेका छन् भने कतै बन्ने क्रममा रहेको छ । महाकुलुङको धेरै स्थानमा झोलुङ्गे र ट्रस्ट ब्रिजको लागि आफूले पहल गरेको उनको भनाइ छ । आफूले पहल गरेको महाकुलुङ–१ बुङ र महाकुलुङ–५ जोड्ने ट्रस्ट ब्रिज हाल निर्माणको क्रममा रहेको उनले बताए ।

बस्नेतले सगरमाथा अनलाइनसँग भने, “सामूहिक हित र जनजीवनसँग सरोकारको विषयमा बढी मेरो ध्यान गयो । त्यो बेलामा कोरोनाको माहोल रहेको कारणले गर्दा सोचेजस्तो काम गर्न नपाएको सत्य हो । तर, भरपूर आफ्नो क्षमता र पहलअनुसार काम गरेँ“ । उनले थपे, “गुदेल–भोजपुर जोड्ने सडक जोड्न बाँकी छ त्यस आयोजनामा बजेट विनियोजन गर्न मैले बढी मेहनत गरे । संखुवासभा जोड्ने बाटो पनि सर्भे सुरु गरेर संखुवासभाबाट सोलुको सिमानासम्म सर्भे भइसकेको छ ।’’

चालु आर्थिक वर्षमा पनि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्तालयले सोलुखुम्बुका दर्जनौं आयोजनामा बजेट विनियोजन गरेको छ । प्रदेश निर्वाचन क्षेत्र नम्बर १ र २ गरी विभिन्न आयोजनाहरू निर्माणको क्रममा छन् । पूर्वाधार विकास कार्यालय अन्तर्गत नेले सोताङ महाकुलुङ सडक स्तरोन्नति, किलिम्ति दिप्ली सडक निर्माण, स्वर्गीय ङिमदोर्जे पर्यटकीय सडक ओपन, भुङ्ग्रा खोला मोटरेबल पुल निर्माण, छूल्यामुदेखि दोर्पुसम्मको सडक स्तरोन्नति, फाप्लु टाक्टोर लामाजुरा भकाञ्जे किन्जा सडक, जन्तरधाप टाप्टिङ सोलनासा सल्लेरी च्याल्सा सडकलगायको काम भइरहेको छ ।

शहरी विकास तथा भवन कार्यालय अन्तर्गत पनि त्यतिकै मात्रामा आयोजनाहरू निमार्णाधीन रहेको कार्यालयका सूचना अधिकारी गिरीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा जिल्लाको चौलाखर्क लुक्ला लगायतको एकीकृत शहर विकास सम्भाव्यता अध्ययन, मदन आश्रित स्मृति प्रतिष्ठानको तला थप्ने, विद्याश्रम सेवा सदन भवनको अधुरो कार्य सम्पन्न गर्नेलगायतका करिब २ दर्जन आयोजनाहरू कुनै निर्माणाधीन छन् भने कुनै सम्पन्न हुने क्रममा छन् ।

शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाका अनुसार सोलुखुम्बु हिमाली जिल्ला भएको हुँदा भौतिक संरचनाको धेरै अभाव छ । तर, कोशी प्रदेश सरकारको प्राथमिकताका साथ बजेट बिनियोजन गरेकोले करोडौ लागतमा सडक, पुल तथा भवन निर्माणको कामले तीव्रता पाएको छ ।

कोशी प्रदेशको पूर्वमन्त्री रहिसकेका प्रदेश सांसद वुद्धिकुमार राजभण्डारीका अनुसार सोलुखुम्बु क्षेत्रफल र स्थानीयको समस्याअनुसार अझ धेरै बजेट अपुग छ । जनताको काम गर्नकै लागि आफू निर्वाचित भएको बताउँदै उनले जिल्लामा धेरै बजेट ल्याउनका लागि पहल गरिरहेको बताए ।

सोलुखुम्बु जिल्ला पर्यटकीय जिल्ला भएको हुँदा पर्यटकीय पदमार्ग निर्माण तथा प्रवद्र्धनमा आफ्नो भूमिका रहेको भन्दै उनले भने, “चालु आर्थिक वर्षमा खुम्बु पासाङ ल्यामु गाउँपालिकाभित्रको विभिन्न ५ वटा पर्यटकीय पदमार्ग निर्माणका लागि १ करोड २५ लाख बजेट विनियोजन गर्न सफल भएको छु ।’ उनका अनुसार नाम्चेदेखि खुम्जुङ जाने, क्याङजुमा हुँदै फोर्चे जाने, लार्चे दोभानबाट नाम्चे जाने र घाटको बाटोमा पर्ने छाँगा व्यवस्थापनका लागि सो रकम विनियोजन गरिएको हो ।

चालु आर्थिक वर्षमै नेले सोताङ महाकुलुङ जाने बाटोको मर्मतसम्भारको लागि १ करोड ६० लाख बजेट प्रदेश सरकारले बिनियोजन गरेको छ । यसअघि नै ट्रयाक ओपनको काम सकिएको हुँदा सो बजेटले ग्राभेलिङको काम भइरहेको प्रदेशसभा सांसद कज्र्याङ शेर्पाले जानकारी दिए । उक्त आयोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने भएको हुँदा ३ प्याकेजमा विभाजन गरी टेन्डरअनुसार रफ्तारमा काम भइरहेको छ ।

सांसद शेर्पाका अनुसार २५ लाख रुपैयाँ लागतमा थुलुङ् दूधकोशीको ८ नम्बरमा दिप्ली जाने सडक मार्गको पनि मर्मत भइरहेको छ । सोताङ् गाउँपालिकाको चेपेलबाट जुके हुँदै चेरेम जाने सडकको लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

जिल्लामा धेरैभन्दा धेरै संख्यात्मक आयोजना ल्याइएको देखिए पनि टुक्रे तथा साना आयोजनामा छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै क्रमागत आयोजनाको पहलमा आफ्नो भूमिका बढाउनुपर्ने सांसद शेर्पा बताउँछन् । त्यसबाट आयोजना व्यवस्थापनमा प्रभावकारिता वृद्धि भई तोकिएको समयमा लक्षित उपलब्धि हासिल गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

संघीय व्यवस्थाको भावना र मर्मअनुसार प्रदेश सरकारबाट ठूला वा मध्यमस्तरीय योजना मात्र कार्यान्वयन गर्ने र स-साना योजना स्थानीय तहबाटै सम्पन्न हुने गरी वित्तीय हस्तान्तरणको मापदण्ड निर्धारण गरिएको छ । पूर्वाधार निर्माण आर्थिक सामाजिक रुपान्तरणसँग जोडिएको विषयसमेत भएको थुप्रै पूर्वाधार निर्माणमा काम गरिरहेको जिल्लाबाट निर्वाचित सांसदको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार