सोलुखुम्बु । जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्डमा सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७९/८० को महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार ८ स्थानीय तह रहेको सोलुखुम्बुमा सबैभन्दा धेरै बजेट खर्च गर्ने सोलुदूधकुण्ड नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको हो ।
नगरपालिकाको १ अर्ब ५४ करोड ४१ लाख २ हजारको लेखा परीक्षण गर्दा २१ लाख ४२ हजार अर्थात् ०.१४ प्रतिशत मात्र बेरुजु रहेको मलेपको प्रतिवेदनमा उल्लेख छ ।
सोलुखुम्बु जिल्लाको सबैभन्दा कम बेरुजु देखिएको गाउँपालिका थुलुङ दुधकोशी रहेको छ । थुलुङ दुधकोशी गाउँपालिकाको १ अर्ब ३९ करोड २८ लाख १ हजारमा १ करोड १० लाख २३ हजार अर्थात् ०.७९ प्रतिशत बेरुजु देखिएको हो ।
त्यसैगरी जिल्लामा सबैभन्दा बढी बेरुजु लिखुपिके गाउँपालिकामा देखिएको छ । ५३ करोड ९३ लाख ५५ हजार खर्च भएकोमा २ करोड ५२ लाख १८ हजार अर्थात् ४.६८ प्रतिशत बेरुजु रहेको छ ।
त्यस्तै, खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब ८ करोड ७४ लाख १४ हजार खर्च भएकोमा ३ करोड १० लाख ६७ हजार अर्थात् २.८६ प्रतिशत बेरुजु रहेको छ ।
माप्य दुधकोशी गाउँपालिकाको ८२ करोड ८२ लाख २ हजारमा २ करोड ८९ लाख ६० हजार अर्थात् ३.५० प्रतिशत, नेचासल्यानको १ अर्ब ४ करोड ५१ लाख ८९ हजारमा २ करोड ३५ लाख २७ हजार अर्थात् २.२५ प्रतिशत, महाकुलुङको ९४ करोड ५५ लाख २९ हजारमा २ करोड ५४ लाख ३५ हजार अर्थात् २.६९ प्रतिशत र सोताङमा ८१ करोड ४१ लाख १२ हजारमा २ करोड २९ लाख ९८ हजार अर्थात् २.८२ प्रतिशत बेरुजु देखिएको छ ।