
काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा नेपाली सेनाको गुल्मलाई गण बनाउन माग गरेका छन् । नव नियुक्त रक्षामन्त्री मानवीर राईलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा नेता कार्कीले सोलुखुम्बु जस्तो ऐतिहासिक जिल्लामा नेपाली सेनाको गण राख्न अति आवश्यक भएको बताएका हुन् ।
नेपाली सेनाको सल्लेरी र नाम्चेमा गुल्म छ भने, जोरसल्ले, थामे र फुङिठाँगामा सेनाको टुकुडी राखिएको छ । कुनै प्राकृतिक विपत्ती पर्दा सोलुमा रहेको नेपाली सेनाको गुल्मले ओखलढुंगामा रहेको नेपाली सेनाको गणसँग अनुमति लिनुपर्ने भएकाले पनि सोलुखुम्बुमा गण राख्न माग गरेको नेता कार्कीले बताए ।
‘मैले पहिले ईश्वर पोखरले उपप्रधान तथा रक्षामन्त्री हुँदा पनि सल्लेरीमा गुल्मलाई गण बनाउन माग गरेको थिए । तर, त्यसबेला कुनै सुनुवाई भएन ।’ नेता कार्कीले भने, ‘अहिले हाम्रै जिल्लाको माननीय रक्षामन्त्री हुनु भएको छ । त्यसैले अरु जिल्लाको रक्षामन्त्रीलेभन्दा आफ्नै जिल्लाबाट नियुक्त हुनुभएको रक्षामन्त्रीले राम्रोसँग भौगोलिक अवस्था र आवश्यकताको बारेमा थाहा भएकाले मैले राखेको मागको चाँडै सम्बोधन हुनेमा विश्वस्त छु ।’

सोलुखुम्बु जिल्लामा २० भन्दा बढि जलविद्युत आयोजनाहरु सञ्चालनमा छन् । दर्जनौं जलविद्युत आयोजना सञ्चालनको समिपमा छन् । त्यत्ति मात्र होइन विश्वको सर्वोच्च शिखर सगरमाथा, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज र चीनको सीमा क्षेत्रसँग जोडिएकाले पनि सोलुखुम्बु जिल्लामा नेपाली सेनाको गण राख्न अति आवश्यक भएको कार्कीले बताए ।
रक्षामन्त्री राईले यो महत्त्वपूर्ण मागलाई आफुले बुझ्ने र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राई गएको असार ३१ गते रक्षामन्त्री नियुक्त भएका थिए ।






