नगर प्रमुख शेर्पाले थामे बाढी पीडितलाई २१ लाख राहत रकम वितरण गरे

  सगरमाथा अनलाईन
119 Shares

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले छिमेकी गाउँपालिका खुम्बु पासाङल्हामुका वडा नं. ५ थामेका बाढी पीडितहरुलाई २१ लाख बराबरको राहत रकम बितरण गरेको छ ।

नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पा र प्रमुख प्रशासकीय अधिकृत कोपिला थुलुङ प्रभावित स्थान खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नं–५ थामे पुगेर बाढी पीडित स्थानीय ५७ घर परिवारलाई शनिबार राहत रकम बितरण गरेका हुन् ।

नगरपालिकाका तर्फबाट बाढीका कारण पूर्ण क्षति भएका परिवारलाई प्रति घर ५५ हजार, आंशिक क्षति भएका परिवारलाई प्रति घर ३५ हजार र उच्च जोखिममा रहेका परिवारलाई प्रति घर १५ हजार नगद उपलब्ध गराईएको छ । जस अनुसार पूर्ण क्षति भएका २३ घर,आंशिक १६ घर र उच्च जोखिममा रहेका १८ घरलाई उल्लेखित रकम राहत स्वरुप वितरण गरिएको नगर प्रमुख शेर्पाले बताए ।

थामे बाढी पीडितले अहिलेसम्म प्राप्त गरेको यो सबै भन्दा ठूलो राहत हो । यस अघि प्रभावित गाउँपालिका खुम्बु पासाङल्हामु गाउँपालिकाले पूर्ण क्षति भएका परिवारलाई प्रतिघर ५० हजार र दैबी प्रकोप राहत समितिको तर्फबाट १५ हजार नगद उपलब्ध गराईएको थियो।बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका रक्षामन्त्री राईले १५ पीडितलाई सो राहत वितरण गरेका थिए ।

साउन ३२ गते दुई वटा हिमताल फुटेर आएको बाढिले थामे बस्तीमा छिरेपछि स्थानीय प्रभावित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार