पहिलो ‘मिसेस पूर्वेली आईकन’ कसले बाजी मार्ला ? (तस्वीरसहित)

  सगरमाथा अनलाईन
161 Shares

सुनसरी । इटहरीमा आयोजना भैरहेको ‘मिसेस पूर्वेली आईकन–२०२४’ को फोटोसुट तथा भिडियोसुट सम्पन्न भएको छ । अब ट्यालेन्ट राउण्ड गर्दै आउँदो असोज १२ गते इटहरीमा यसको ग्राण्ड फिनाले आयोजना गर्ने योजना आयोजकले बताएको छ ।

विवाहित महिलाहरुको व्यक्तित्व, सीप, र बौद्धिक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने यो प्रतियोगिता केवल बाहिरी सौन्दर्य प्रदर्शनमा मात्र सीमित नरहेर, विवाहित महिलाहरुको सशक्तीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको आयोजक संस्था ओपन स्पेसका निर्देशक सरोज श्रेष्ठले बताए ।

आयोजकले यसलाई विवाहित महिलाहरुका लागि आत्मविश्वास बढाउने, आत्मबल निर्माण गर्ने र महिलाहरुको समाजमा योगदान अभिवृद्धि गराउने एउटा अद्वितीय प्लेटफर्मको रुपमा प्रस्तुत गरेका छन् । यो प्रतियोगितामा ८ जना विवाहित महिलाहरु फाईनल प्रतिष्पर्धा गर्दैछन् । जसमा सुनसरी, मोरङ, झापा, धनकुटा लगायतका जिल्लाबाट विवाहित महिलाहरु सहभागी भएका छन् । प्रतियोगिताका सहभागीहरुमा रुबिना श्रेष्ठ, सुस्मा बिस्ट, रेनुका श्रेष्ठ, सुनिता पुरी, मुना बजगाई, दिपिका भट्टराई, जिसिका सापकोटा, र रेस्मा आङदेम्बे लिम्बु रहेका छन् ।

यतिबेला यी प्रतिष्पर्धीहरुको भोटिङ प्रक्रिया पनि सुरु भइसकेको छ । भोट गर्नको लागी एभिन्टोजको वेबसाइट र मोबाइल एपमार्फत आफ्नो मन परेको प्रतिस्पर्धीलाई भोट दिन सकिनेछ । केहिअघि प्रतिष्पर्धी महिलाहरुको फोटोसुट र भिडियोसुट समेत सम्पन्न भैसकेको छ । आयोजकले प्रत्येक प्रतिस्पर्धीको छुट्टाछुट्टै प्रोफाइल भिडियो निर्माण गर्ने योजना बनाएका छन्, जहाँ उनीहरुले आफ्ना व्यक्तिगत जीवनका संघर्ष, उत्साह र अनुभवलाई सो भिडियो मार्फत प्रस्तुत गर्न सक्नेछन् । यी भिडियोहरुमा पारिवारिक सम्बन्धदेखि उनीहरुले भोगेका विभिन्न उतारचढावका कुरा समेत समेटिने निर्देशक श्रेष्ठले बताए ।

यस प्रतियोगितालाई अझ प्रतिस्पर्धी र ज्ञानवर्धक बनाउन आयोजकले सहभागी महिलाहरुलाई सौन्दर्यसँगै विभिन्न सीप विकास, व्यक्तित्व विकास र बौद्धिक क्षमताको वृद्धि गर्ने प्रशिक्षण प्रदान गरिरहेका छन् । र्याम्प वाल्क, आत्मविश्वास विकास र महिला सशक्तीकरण सम्बन्धी ज्ञानवर्धक तालिमहरु प्रदान गर्दै प्रतियोगिताको अन्तिम तयारीमा जुटिरहेका छन् ।

प्रतियोगिताका विजेताले ५० हजार नगद पुरस्कारका साथै अन्य थुप्रै आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । प्रतियोगिता मार्फत विजेताले आफूलाई मात्र नभएर समाजमा महिलाको स्थानलाई अझ सशक्त बनाउन भूमिका खेल्न सक्नेछन् ।कार्यक्रमका निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर शुभेक्षा कार्की, फोटो र भिडियोग्राफीका लागि बज क्रीयसन र मिडिया संयोजक सुवास संकल्प श्रेष्ठ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार