रामेछाप । सगरमाथा भ्रमणमा आएका पर्यटकहरुलाई मन्थलीमा स्वागत गरिएको छ ।
४५ औँ विश्व पर्यटन दिवसको अवसरमा रामेछापको सदरमकामस्थित मन्थली विमानस्थलबाट सगरमाथा क्षेत्र भ्रमणका लागि आएका पर्यटकहरुलाई स्वागत गरिएको हो । ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ सदरमुकाम मन्थलीस्थित मन्थली विमानस्थलमा सगरमाथा क्षेत्र भ्रमणका लागि विभिन्न देशबाट आएका पर्यटकलाई स्वागत कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएको थियो ।
रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घले मन्थली विमानस्थल आसपासका क्षेत्र सरसफाइ गरी सगरमाथा क्षेत्र भ्रमणका लागि मन्थली विमानस्थलबाट लुक्ला जान विभिन्न देशबाट आएका पर्यटकलाई स्वागत गरेका हुन् ।
लुक्ला जान मन्थली विमानस्थल आएका पर्यटकलाई खादा लगाएर स्वागत र विमानस्थल आसपासका क्षेत्रको सरसफाइ कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कविन्द्र लामाले बताए । ‘नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्धन गर्ने उद्देश्यले होटेल सङ्घको आयोजनामा पर्यटकलाई स्वागत गरिएको हो । कोरोना महामारीपछि पर्यटन क्षेत्र अहिले पुरानै लयमा फर्किने क्रममा छ । स्वागत कार्यक्रमबाट मन्थलीका होटेलले प्रदान गरिरहेका सेवा सुविधाका बारेमा पर्यटकसँग सुझाव पनि लिएका छौँ’ अध्यक्ष लामाले भने ।