किरात मातृभाषामा प्रकाशित पत्रपत्रिकाको ग्राहक बनेर सहयोग गर्नुपर्छः उपाध्यक्ष राई

  सगरमाथा अनलाईन
231 Shares

काठमाडौं । किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष जनक राईले किराती समुदायभित्रको विभिन्न भाषामा प्रकाशित मातृभाषा पत्रिकाको ग्राहक बनेर सहयोग गर्नुपर्ने बताएका छन् ।

किरात राई पत्रकार संघको १७ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्नु हुँदै उपाध्यक्ष राईले पछिल्लो समय पत्रपत्रिका संकटमा रहेको, झनै मातृ भाषामा प्रकाशित पत्रपत्रिकाको अवस्था नाजुक भएको भन्दै आफूले सकेको सहयोग गर्नुपर्ने बताएका हुन् । ‘मातृभाषा पठनपाठन भयो भने मात्रै हाम्रो भाषा बचाउन सकिन्छ,’ उपाध्यक्ष राईले भने, ‘हामी आफैले मातृभाषाको पत्रकारिता मार्फत भाषा बचाउन सकिन्छ । मातृभाषामा प्रकाशित पत्रिकालाई ग्राहक बनेर हामीले सहयोग गर्नुपर्छ ।’

एक अर्को प्रशंगमा राईले १ नं. प्रदेश नामांकनमा संविधानले दिएको न्यूनतम अधिकार पनि प्रयोग नगरिएको आरोप लगाए । ‘हामीलाई नयाँ संविधानले प्रष्ट रुपमा व्यवस्था गरेको छ । पहिचानको आधारमा स्थानीय तह र प्रदेशको नामाकरण गर्ने । तर, हाम्रै प्रदेशको नाम हेरौं । के पहिचान आधारमा नामाङकन भएको छ ?’ राईले प्रतिप्रश्न गरे, ‘हाम्रो प्रदेशको नाम एकल जाती, भाषी र गोत्रिय नाम राखियो । त्यसको बिरोधमा किरात राई यायोख्य निरन्तर लागिरहेका छौं ।’

राईले अबको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा पहिचान पक्षधरतालाई मतदान गर्न सबै किराती समुदायलाई आग्रह गरिने पनि बताए । ‘अबको कार्यक्रम प्रदेश १ का १४ वटै जिल्लामा प्रदेश नामाकरणको विषयमा छलफल गर्ने छौं,’ राईले भने, ‘राजनीतिक पार्टीले पनि प्रदेश १ का जनताहरूलाई ठूलो धोका दिएकाले यो आन्दोलनलाई निष्कर्षमा पुर्याउनको लागि आन्दोलनमा होमिनुको विकल्प छैन ।’

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय अध्यक्ष गजुरधन राईले सबैभन्दा माया गर्नुपर्ने प्रिय संगठन किरात राई पत्रकार संघ भएको बताए । अध्यक्ष राईले किराती मूल र कुलमा जन्मिएर विभिन्न मिडिया हाउसमा काम गर्ने किराती पत्रकारहरुको छाता संस्था रहेकाले पनि किरात पत्रकार संघलाई प्रिय संगठन भएको बताएका हुन् ।

अध्यक्ष राईले किरात राई पत्रकार संघका बरिष्ठ उपाध्यक्ष गणेश साम्पाङको शीघ्र स्वास्थ्य लाभको कामना गरे । ‘भावनात्मक संगठनमा काम गर्न धेरै गाह्रो हुन्छ । यो संगठनमा अध्यक्ष, उपाध्यक्ष र महासचिव अझ क्रियाशील रुपमा लाग्नु पर्छ,’ अध्यक्ष राईले भने, ‘बितेर गएका अग्रज पत्रकारहरूको फोटो मञ्चमा राखेर माल्यर्पण गर्नुपर्छ । अबको कार्यक्रममा त्यो दृष्य देख्न पाउ ।’

अन्य पत्रकार संघ, संगठनमा जानको लागि पहिले आफ्नै पत्रकार संघमा सक्रिय हुनुपर्ने अध्यक्ष राईको भनाइ छ । ‘किरात राई पत्रकार संघले विभिन्न मिडियामा काम गर्ने राई पत्रकारहरूलाई बोलाएर परिचयात्मक कार्यक्रम गर्दा अझ राम्रो हुन्थ्यो,’ राईले भने, ‘पत्रकारिता पेशा भनेकै समन्वय र आपसी अन्तरसम्बादबाट मात्रै अझ सजिलो हुने भएकाले आउने दिनमा त्यस्ता कार्यक्रमहरु पनि गर्न म अनुरोध गर्दछु ।’

किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष अध्यक्ष गणेश राईले १७ वर्ष अगाडि सानो कोठामा सिमित व्यत्तिहरु बसेर स्थापना गरेको किरात राई पत्रकार संघको तत्कालिन पदाधिकारी र सदस्यहरुलाई भावुक भएर सम्झिए । ‘मलाई १७ वर्ष अगाडि जति उत्साह थियो, अहिले त्यत्ति उत्साह जागेको छैन,’ संस्थापक अध्यक्ष राईले भने, ‘जुन लक्ष्य र उद्देश्यका साथ हामीले यो संस्था स्थापना गरेका थियौं । बीचमा केहि बिटुलिन खोज्यो । अहिले पुनः ट्रयाकमा आएको छ ।’

किरात राई पत्रकारका संस्थापक पदाधिकारी र सदस्यहरूलाई सम्झिदै संस्थापक अध्यक्ष राईले आफूले शुरुवात गरेको किरात जर्नल निरन्तर प्रकाशन गर्न सुझाव दिए । ‘किरात जर्नल सबै सम्झनको लागि पनि निरन्तर प्रकाशन गर्नुपर्छ । जसले हामी किरात पत्रकारहरू कहाँ पुग्यौं, कहाँ छौं भनेर थाहा पाउन सकिन्छ,’ राईले भने, ‘मातृभाषा पत्रिका वान्तावा, चाम्लिङ र वाम्बुलेमा मात्रै होइन, अरू मातृभाषामा पनि प्रकाशित हुनुपर्छ । अनिमात्र हाम्रो पत्रकारिताले सार्थकता पाउछ । किरात राई पत्रकार संघले पहिचानको आन्दोलनमा कति सहयोग गर्यो । त्यसको समीक्षा हुन जरूरी छ । हाम्रो योगदान कसले कति गर्यौं भनेर आत्मा समीक्षा पनि गर्नु पर्छ ।’

‘अग्रज किरात राई पत्रकारहरू जति सम्झनु पर्ने हो, त्यत्ति सम्झन नसकिएको हो कि भन्ने मलाई लागेको छ । राष्ट्रिय समाचार समितिको जिएम सिद्वराज राई, अग्रज पत्रकार टिकाराम राई र अशोक प्यासीलाई खै हामीले सम्झेको ?’ राईले भने, ‘मिडियामा जाने मात्रै हामीले पहल गर्यौं, तर, हामीले कसरी सबै किरात पत्रकारहरूको क्षमता अभिबृद्वि गर्ने भनेर अलि सोच्न सकेनौं की ? यो विषयमा पनि किरात राई पत्रकार संघले ध्यान दिनु पर्छ ।’

बरिष्ठ फोटो पत्रकार हरिवंश किरातले किरात राई पत्रकार संघको १४ जिल्लामा शाखा विस्तार भएकोमा खुशी व्यक्त गरे । ‘किरात राई पत्रकार संघ १४ जिल्लामा शाखा विस्तार हुनु भनेको खुशिको कुरा हो,’ पत्रकार राईले भने, ‘उपस्थिले खासै असर गर्दैन, जति उपस्थिति हुन्छौं त्यसले गर्ने कामल धरै महत्व राख्छ । त्यसैले हामीले भिडले होइन काम र हामीले गर्ने कर्मले महत्व राख्ने हो ।’

‘नयाँ युवा भेटियो भने ५ सेकेन्ड आयु बढेको म महशुस गर्छु, अझ क्रियाशील युवा भेटियो भने १० सेकेन्ड आयु बढेको म महशुस गर्छु,’ फोटो पत्रकार राईले भने ।

किरात राई पत्रकार संघको संस्थापक सदस्य भद्रगोल किराँतीले किरात राई पत्रकार संघको १४ जिल्लामा भएको शाखाहरू चलायमान बनाउनु पर्ने बताएका छन् । ‘स्थनीय तहमा श्रोत पहिचान गरि विभिन्न क्षमता अभिबृद्वी तालिम दिनुपर्छ,’ किरातीले भने, ‘किरात जर्नल सकिन्छ भने वार्षिक रूपमा निकाल्नु पर्छ । त्यस कार्यको लागि मैले के गर्नु पर्ने हो म गर्न तयार छु । किरात जर्नल जिल्ला शाखाहरूमा पठाउदा केन्द्रले गरिरहेको गतिविधिहरु सबैले थाहा पाउछन् ।’

एक अर्को प्रशंगमा किरातीले पहिचानको आन्दोलनमा सरिक भएकाले सबै पत्रकार साथीहरूले आन्दोलनको बारेमा अझ बल पुर्याउनको लागि समाचार सही रूपमा आम नागरिकबीच पुर्याउनु पर्ने बताए । ‘ऐतिहासिक आन्दोलनले नेपाली राजनीतिमा एउटा तरंग ल्याएको छ,’ किरातीले भने, ‘यसलाई अझ सशक्त बनाउनका लागि पत्रकार साथीहरूले निरन्तर कलम चलाउन अनुरोध गर्दछु ।’

किरात राई पत्रकार संघका पूर्व बरिष्ठ उपाध्यक्ष प्रकाश खालिङले संस्थाको बरिष्ठ उपाध्यक्ष गणेश साङपाङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संस्थाले साङपाङप्रति देखाएको सहानुभूति सराहनीय भएको बताए ।

किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष अवतार राइले सिमित पत्रकारहरू एउटा कोठामा बसेर स्थापना गरेको संस्था आज १७ वर्ष लागेकोमा खुशी व्यक्त गरे । ‘तत्कालिन समयमा स्थापना गरेको संस्थाको कुरा सुन्दा आज १४ जिल्लामा शाखा विस्तार भएको छ । अहिलेको अवस्था हेर्दा किरात राई पत्रकार संघप्रति गर्व महशुस हुन्छ,’ अध्यक्ष राईले भने, ‘यस्तो गर्व महशुस गराउन स्थापनाकालदेखि हालसम्म रहनुहुने सम्पूर्ण किरात पत्रकारहरूलाई धन्यवाद दिन चाहन्छु ।’

‘मातृ संस्था यायोख्या र फोनिजसँग अबको दिनमा अझ बढि समन्वय गर्नेछौं, अध्यक्ष राईले भने, ‘किरात राई पत्रकार संघलाई हामीले चौतारीको रूपमा विकास गर्न सकिएको छैन । हामीले व्यवसायिक रूपमा उठाइरहेको मुद्वा अझ संस्थागत रूपमा लैजाने प्रतिबद्वता गर्दछु ।’

किरात राई पत्रकार संघका महासचिव कृष्णजित राईले प्रत्येक वर्ष वितरण गरिदै आएको किरात राई संघर्षशील् पत्रकारीता पुरस्कार संस्थाका बरिष्ठ उपाध्यक्ष गणेष साम्पाङलाई वितरण गरिएको बताए । बिरामी भएर अस्पतालको शैय्यामा उपचार गरिरहेका साम्पाङलाई सहयोग स्वरुप वितरण गरिएको महासचिव राईले बताए ।

कार्यक्रम किरात राई यायोक्खाको सभाहल कोटेश्वरमा सम्पन्न भएको थियो । कार्यक्रममा किरात राई पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार