४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

हट्यो ७ सय ७४ स्थानको पहिरोः यी हुन् खुल्न बाँकी मुख्य सडक



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गएकोमा ७ सय ७४ स्थानको पहिरो हटाइएको बताएको छ ।

मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिएको जानकारी दिएको हो ।

यस्तै, ५ मुख्य राजमार्गका ३१ स्थानमा पहिरो हटाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ ।

खुल्न बाँकी मुख्य राजमार्ग

अरनिको राजमार्गको लार्चा-कोदारी ५ किमी सडकखण्ड अझै सुचारु हुन सकेको छैन । यस क्षेत्रमा लिपिङ् पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध छ । लार्चामा ह्युम पाइप र लिपिङ्मा बेलीब्रिज जडान गरेर यातायात सञ्चालन गरिने छ ।

बिपी राजमार्गको चाँकीडाँडा-कालढुंगा १८ किमी सडकखण्डमा करिब १२ किमी सडक पूर्णरुपमा बगेका कारण बिच-बिचमा सवारी साधनहरू रोकिएका छन् । यस क्षेत्रमा दुवै तर्फबाट पहिरो सफा गर्ने तथा रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्म सबै विकल्प प्रयोगरी अस्थायी रूपमा यातायात सञ्चालन गर्ने प्रयास जारी छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गको दोलालघाट-राकथुम ८० किमी सडकखण्डमा धेरै ठाउँमा पहिरो गएका कारण दुवै तर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । यो क्षेत्रमा बर्दिबासबाट बिपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुँदै काठमाडौँ प्रवेश गराइने बताइएको छ ।

कान्ति राजपथको घपेली-बगुवा १३ किमी र बागमती पुलको दायाँ-बायाँ पहुँच मार्गमा मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफाइ गर्ने कार्य जारी छ ।

मेची राजमार्गको रमिते-फिदिम आठ किमी हेंवा पुलसहितको सहडमा पहिरो पन्छाउने तथा हेंवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिने योजना रहेको मन्त्रालयले जनाएको छ ।

क्षति भएका पुल

यसैगरी, अरनिको राजमार्गतर्फ लिपिङ १७ मिटर, लार्चा ४५ मिटर क्षति भएको छ । बिपी राजमार्गतर्फ सुनकोशी-खैरेनीटार ५० मिटर, सुनकोशी-फोक्सिङ्टार ११० मिटर, सुनकोशी-खुर्कोट ५० मिटर क्षति भएको छ ।

मेची राजमार्गतर्फ हेंवा खोला पुल ५० मिटर, कान्तिलोकपथमा बागमती पुल १५ मिटर, माईपोखरी-सन्दकपुर इलामको रातेखोला पुल ३५ मिटर र कान्ति राजपथको बागमती पुल ५० मिटरमा क्षति भएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ५ : ३७ बजे