६ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025

१४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा नामसहित



काठमाडौं । सरकारले काठमाडौँ, ललितपुर, भक्तपुरसहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौँ उपत्यकाका ३ जिल्लासहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको गृहमन्त्री रमेश लेखकले बताए ।

मन्त्री लेखकले अविरल वर्षाका कारण बाढी र पहिरोले क्षति पु¥याएका १४ जिल्लालाई सङ्कटग्रस्त जिल्लाको रूपमा घोषणा गरेको जानकारी दिए । गत शुक्रबार र शनिबार देशैभर अविरल वर्षा हुँदा ठुलो जनधनको क्षति भएको थियो । मन्त्री लेखकले भने, ‘अविरल वर्षका कारण बाढी र पहिरोले धेरै ठुलो जनधनको क्षति ग¥यो । अब राहत, उद्धार, पुनर्निर्माण र पुनस्र्थापना सघन रूपमा गर्न सङ्कटग्रस्त जिल्ला घोषणा गरेका छौँ ।’

मन्त्री लेखकले सरकारले बाढीपहिरोले सबैभन्दा बढी क्षति भएका जिल्लालाई उच्च प्राथमिकता दिएर काम गर्न सङ्कटग्रस्त जिल्ला घोषणा गरेर काम गर्न लागेको बताए सरकारले सङ्कटग्रस्त जिल्ला घोषणा गरेपछि बजेटदेखि पुनर्निर्माणलाई उच्च प्राथमिकता दिएर काम हुने छ । लेखकले नेपाल प्रहरीको संशोधित विधेयक र सशस्त्र प्रहरी बल संशोधित विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयबाट लोक सेवा आयोगमा पठाउने निर्णय भएको जानकारी पनि गराए ।

यसअघि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले बाढीपहिरो र डुबानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो । गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको उक्त बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपत् सङ्कटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।

बाढी, पहिरो र डुबानबाट सबैभन्दा धैरै मानवीय तथा भौतिक क्षति भएका जिल्ला पाँचथर, ओखलढुङ्गा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्ला र ती जिल्लाका विभिन्न स्थानीय तहलाई सङ्कटग्रस्त घोषणा गर्न सिफारिस थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १२ : ३४ बजे