२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

अखिल क्रान्तिकारीको बाँकी मतगणना पेरिसडाँडामा गर्न प्रस्ताव


१५ माघ २०८१, मंगलबार  

0
Shares

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतगणनामा रातो–कालो मसीका कारण उत्पन्न विवाद अझै समाधान भएको छैन । यही विवादका बीच निर्वाचन आयोगले बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गर्न प्रस्ताव गरेको छ ।

विश्वविद्यालय र विशेष प्रदेश समितिको मतपत्रमा निर्वाचन आयोगले तोकेको रातो मसीको सट्टा कालो मसीबाट पनि भोटिङ भएको खुलेपछि उत्पन्न विवादका कारण सोमबारदेखि नै मतगणना रोकिएको छ ।

 

बाँकी मतगणना सुरु गर्ने सम्बन्धमा निर्वाचन आयोगले आज अध्यक्षका चारै जना उम्मेदवारहरुसँग संयुक्त छलफल गर्दै लिखित धारणा मागेको छ ।

छलफलको क्रममा हेडक्वाटर ९पार्टी अध्यक्ष प्रचण्ड० निकट मानिएका अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा बाहेकका उम्मेदवारहरुले सबैभन्दा पहिले कालो मसी प्रयोग भएका मतपत्र रद्द हुनुपर्ने र रातो मसीलाई मात्र मान्यता दिनुपर्ने अडान दोहोर्‍याएका थिए । अध्यक्षमा प्रचण्ड निकट सापकोटासहित जनार्दन शर्मा निकट हेमन्त राई, वर्षमान पुन निकट सुदिन पौडेल र नारायणकाजी श्रेष्ठ निकट उपदेश यादव प्रतिस्पर्धामा छन् । छलफलमा सहभागी एक नेताले भने, ‘निर्वाचन आयोगले हामीसँग के गर्ने भनेर सोधेको छ, हामी आफ्ना पूर्ववत अडान लिखित रुपमा राख्ने छौं ।’

नयाँ कार्यसमिति चयनका लागि माघ ११ गते वालमीकि विद्यापीठमा मतदान भएको थियो । सोही दिन रातिदेखि वालमीकि विद्यापीठमै मतगणना भइरहेको छ । विशेष प्रदेश र विश्वविद्यालय प्रदेशबाहेकको मतगणना सम्पन्न हुँदासम्म सापकोटा पहिलो, राई दोस्रो, यादव तेस्रो र पौडेल चौथो स्थानमा छन् ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ९ : ०१ बजे