२८ असार २०८२, आइतबार | Sun Jul 13 2025

खोटाङका सांसदले सरकारसँग मागे दमकल



काठमाडौं । खोटाङबाट प्रतिनिधित्व गर्ने सांसदहरूले खोटाङ हलेसीको आगो निभाउन सरकारसँग दमकल मागेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयका अनुसार आइतबार बेलुकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ स्थित हलेसी बजारमा भीषण आगलागी भयो । पदमशेर राईको भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर सुरु भएको आगो समयमा निभाउन नसक्दा राईको पुजा स्टोर, हार्डवेयर पसल र सोही घरमा रहेको निर्धन उथ्थान लघुवित्त संस्थाको कार्यालय जलेर पूर्ण रूपमा नष्ट भयो ।

उनका अनुसार, आइराख राईको न्यु कल्याण होटल, पक्की घर र सँगै रहेको काठको घरसमेत जलेर नष्ट भयो । हलेसी दर्शन होटल र सँगै जोडिएको घर, परुहान होटलमा पनि क्षति पुग्यो ।

स्थानीय युवा, समाजसेवी, जनप्रतिनिधि र सुरक्षाकर्मीको अथक प्रयासका बाबजुद पानी हाल्ने दमकल नहुँदा ठूलो धनमालको क्षति हुन पुगेको सांसद बजिमयले बताइन् ।

‘खोटाङ हलेसीमा दमकलको अति आवश्यकता छ । म सम्माननीय सभामुखमार्फत् सरकारसँग माग गर्न चाहन्छु, खोटाङ हलेसीमा दमकल चाहियो ।’

स्थानीय तहको बजेटले नभ्याउने भन्दै उनले दमकल उपलब्ध गराइदिन र हलेसीको आगोले क्षति पुगेकालाई क्षतिपूर्तिको व्यवस्था गर्न संघीय सरकारसँग माग गरिन् ।

धनकुटाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका अर्का सदस्य रामकुमार राइले पनि हलेसीको आगलागीबारे सरकारको ध्यानाकर्षण गराए । आगलागीबाट हलेसीमा सात करोड ३० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान प्रस्तुत गर्दै उनले भने, ‘सरकारले जति सक्दा चाँडो दमकल उपलब्ध गराओस् ।’

सुनसरीबाट प्रतिनिधित्व गर्ने सांसद अशोककुमार चौधरीले हलेसीको आगलागीबाट केही नागरिकले सम्पूर्ण सम्पत्ति गुमाउन पुगेको बताए । उनले पनि क्षतिपूर्ति र राहतका लागि संघीय सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १ : ०६ बजे