काठमाडौं । कवियत्री शकुन आँसुको कविता संग्रह ‘नवयुगको सुम्निमा’ विमोचन हुने भएको छ । शकुनको कविता संग्रह जमलस्थित नाँचघरमा फागुन १० गते शनिबारका दिन विमोचन गर्न लागिएको हो ।
कविता संग्रहमा संग्रहित कविताले पूर्वी नेपाली समाजको प्रतिनिधित्व गरेको प्राध्यापक डा. विष्णु राईको भनाई छ । ‘सिंगो जीवनको पीडाले पिल्सिएर उनको कवितामा देशको विद्रोह बोल्छ, शान्ति खोज्छ । सुन्दर आशा बोकेर कविताले आफैँ नाचेको, गीत गाएको रमाइला अनुभीतिहरु छन्,’ प्रा.डा. राईले सुन्दर शब्दमा भनेका छन्, ‘शकुनका कविता बलिया छन्, उनका कविताले हरेक मनको कुनामा गहिरो छाप छोड्न सक्छ । उनी धेरै सम्भावना भएकी कवि हुन् ।’
कवितामा सीमान्त सँस्कृतिक, लैङ्गिक असमान्ता र राजनैतिक, समाजिक विकृतिका विरुद्ध समानता र अस्तित्वको अथाह खोजी गरेको छ । आम मानिसको जीवन भोगाईका आरोह अबरोहलाई सुन्दर रुपमा प्रस्तुत गरिएको छ ।

कविता संग्रहमा ४२ वटा कविता समावेश गरिएको छ । कवियत्री शकुनले लेखनको सुरुवात गजलबाट गरेका थिए । तत्कालिन समयमा थुप्रै हवाई पत्रिका प्रकाशित गरेका उनले करिब एक दशकपछि कविता संग्रह प्रकाशित गरेका हुन् ।