सोलुखुम्बु । नेपाली कांग्रेस प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रका सबै क्रियाशील सदस्यहरुले फागुन मसान्तसम्म सदस्यता नविकरण गर्न निर्देशन दिइएको छ । सभापति धनजन राईको अध्यक्षतामा बसेको प्रदेशसभा ‘क’ को बैठकले क्रियाशील सदस्यहरुले फागुन मसान्तसम्म सदस्यता नविकरण गरिसक्नुपर्ने निर्देशन दिइएको हो ।
बैठकले रिक्त रहेको कोषाध्यक्ष पदमा कुमारीदेवी शर्मालाई मनोनित गरेको छ । त्यसैगरी आउने २०८२ वैशाख महिनाको पहिलो हप्ताभित्र प्रदेश सम्मेलन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा पर्ने सबै स्थानीय तहमा पार्टी प्रशिक्षण कार्यक्रम गर्ने, कार्यसम्पादन समिति र विभाग गठन गर्ने जिम्मेवारी सभापति लाई दिनेलगायतका निर्णयहरु गरिएको सचिव विजय गुरुङले बताए ।

बैठकले कार्यवाहक सभापति फुर्तिमान तामाङलाई बधाई तथा शुभकामना दिनुका साथै निःशुल्क पार्टी कार्यलयको लागि भवन उपलब्ध गराउनु भएकोमा धन्यवाद प्रस्ताव समेत पारित गरेको छ । बैठकमा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति विनोद बस्नेत, थुलुङ दुधकोशी गाउँपालिका सभापति भक्तबहादुर गुरुङ, नेता जय राईलगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।