काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग कुनै छलफल नभएको बताएका छन् । सरकारमा जाने कुनै नीति नभएको र नहुने पनि उनले बताएका हुन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौं ।’ कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको भनेर चर्चा भइरहेको भन्दै प्रचण्डले त्यसमा सत्यता नभएको बताए । ‘देशमा संकट आयो भने संकट कसरी समाधान भन्ने हाम्रो विचार त हामी दिन्छौं । तर यही सरकारमा गएर हामी पनि कोट हुने, त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन । बाँकी प्रचार सबै भ्रम हो,’ उनले भने ।
‘कसैसँग औपचारिक कुरा भएको हो कि भन्ने आएको छ, कुरा पनि कसैसँग भएको छैन,’ उनले भने, ‘अन्यअन्य विषयमा त कुरा हुन्छ, जस्तो टीआरसी, सत्य निरुपणसँग सम्बन्धित, बेपत्तासँग सम्बन्धित कुरा त गर्नु नै पर्छ, मैले गरी पनि राख्या छु । तर सरकार बनाउने बारेमा यो पटक हामी बिल्कुल छैनौं ।’
