
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि काठमाडौंमा हुन गइरहेका राजावादी र गणतन्त्र पक्षधर दुवै प्रदर्शनमा आफ्नो सहभागिता नहुने स्पष्ट पारेको छ। पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार यी प्रदर्शनहरू सरकार विरोधीभन्दा व्यवस्थाको पक्ष र विपक्षमा केन्द्रित भएकाले रास्वपाले दूरी कायम गर्ने निर्णय गरेको हो।
झाका अनुसार रास्वपा भ्रष्टाचार, बिचौलियाको प्रभाव र सरकारको कमजोरीविरुद्ध हुने शान्तिपूर्ण प्रदर्शनमा ऐक्यबद्धता जनाउने नीति लिएको छ। ‘भोलिको प्रदर्शन सुशासनको एजेन्डासँग सम्बन्धित छैन,’ उनले भने, ‘हामी सरकारको आलोचक हौं, तर व्यवस्थाको बहसमा सहभागी हुने पक्षमा छैनौं।’
रास्वपाले यसअघि कुलमान घिसिङको बर्खास्तीविरुद्ध सरकारविरोधी प्रदर्शन गर्ने बताएको थियो। पार्टीले वर्तमान सरकारलाई ‘भ्रष्टाचार जोगाउने र बिचौलियालाई पोस्ने’ आरोप लगाउँदै आलोचना गर्दै आएको छ। झाका अनुसार सरकार गठन भएको आठ महिनामा कुनै उल्लेखनीय काम नभएकाले यसको औचित्यमै प्रश्न उठिसकेको छ।








