
काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा तोडफोड गर्दै महँगा सामान लुटपाट गरेका छन्।
भाटभटेनी व्यवस्थापनका अनुसार आइतबार दिउँसो करिब ३ः२८ बजे एक दर्जनजति प्रदर्शनकारीहरू मूलगेट फोडेर सुपर स्टोरभित्र प्रवेश गरेका थिए। उनीहरूलाई रोक्न सुरक्षागार्डहरूले प्रयास गरे पनि प्रदर्शनकारीहरूको समूह विस्तारै बढ्दै गएर करिब डेढ सय हाराहारी पुगेपछि व्यापक तोडफोड र लुटपाट मच्चिएको थियो।
महँगा सामान लुटपाट, प्रहरी ढिलो पुग्दा क्षति बढ्यो
प्रदर्शनकारीहरूले मोबाइल फोन, घडी, महँगा मदिरा, कपडा लगायतका सामान लुटेर लगेका छन्। साथै, फलफूल, तरकारी लगायतका सामान समेत उठाएर लगेको भाटभटेनी व्यवस्थापनका एक अधिकारीले बताए।

‘हामीले प्रहरीलाई तुरुन्तै खबर गरेका थियौँ, तर प्रहरी घटनास्थलमा पुग्न ३४ मिनेट लाग्यो। यदि समयमा नै प्रहरी आएको भए यति धेरै लुटपाट हुने थिएन,’ ती अधिकारीले भने।
सुरक्षागार्डमाथि हातपात, आगजनीसमेत गरियो
राजावादी प्रदर्शनकारीहरूको समूह तितरबितर हुने क्रममा सुपर स्टोरका सुरक्षागार्डमाथि हातपात गर्दै स्टोरभित्र छिरेका थिए। लुटपाटपछि प्रदर्शनकारीहरूले केही सामान बाहिर निकालेर आगजनीसमेत गरेका थिए।
स्टोरको विभिन्न भागमा तोडफोड हुँदा भवनका सिसाहरू फुटेका छन्। यस घटनाबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन। भाटभटेनी व्यवस्थापनले दोषीमाथि कडा कारबाहीको माग गर्दै उचित क्षतिपूर्ति दिनुपर्ने बताएका छन्।
यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।







