
काठमाडौं । तिनकुनेस्थित राजावादी प्रदर्शनमा हिंसात्मक गतिविधि बढेपछि प्रहरीले आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ।
नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार प्रसाईंको खोजी भइरहेको छ। गृह मन्त्रालयले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी उनलाई कानुनी कारबाहीको दायरामा ल्याउने निर्णय गरेको जनाएको थियो।
निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि आक्रामक व्यवहार
शुक्रबार दिउँसो प्रसाईं आफैंले बीएबी ४२०८ नम्बरको गाडी चलाउँदै प्रदर्शनस्थलतर्फ अघि बढेका थिए। भिडियो फुटेजहरूमा उनलाई ‘आओ-आओ’ भन्दै प्रदर्शनकारीलाई उक्साइरहेको देख्न सकिन्छ।

त्यसक्रममा प्रहरी निषेधित क्षेत्रमा सुरक्षाकर्मी ठूलो संख्यामा तैनाथ थिए। तर, प्रसाईंले प्रहरीलाई अश्लील गाली गर्दै गाडी अघि बढाएपछि स्थिति तनावग्रस्त बनेको थियो। सुरक्षाकर्मीले गाडी रोक्ने प्रयास गरे पनि उनी बलपूर्वक अघि बढेको भिडियोहरू सार्वजनिक भएका छन्।
प्रदर्शन उग्र, तोडफोड र आगजनी
प्रसाईंको नेतृत्वमा निषेधित क्षेत्र तोडिएपछि राजावादी प्रदर्शन झन् उग्र बनेको थियो। सुरक्षाकर्मीको पहिलो घेरा तोडिएपछि पछि रहेका सुरक्षाकर्मीहरू पछि हटेको देखिएको थियो।
यसक्रममा ठाउँ–ठाउँमा तोडफोड र आगजनी भएको छ। प्रहरी प्रशासनले हिंसात्मक गतिविधिमा संलग्नहरूमाथि कानुनी कारबाही गर्ने जनाएको छ।







