
काठमाडौं । तीनकुनेमा प्रदर्शनका क्रममा भएको आगलागीमा परी एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ।
राजावादी प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपपछि तीनकुनेको एक भवनमा आगजनी भएको थियो। उक्त भवनको छतमा रिपोर्टिङका क्रममा रहेका पत्रकार रजकको आगलागीमा परी निधन भएको हो।
आगलागीपछि रजक सम्पर्कविहीन भएका थिए। एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, ‘रिपोर्टिङका लागि गएका साथी सम्पर्कमा हुनुहुन्न, अस्पतालतिर पनि भएको जानकारी छैन।’

एभिन्युजका अर्का पत्रकारका अनुसार आगलागी भइरहेको भवनभित्र रजक रहेको जानकारी प्रहरीले पाए पनि समयमै उद्धार हुन सकेन।
घटनापछि एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार घटनास्थलमा पुगेका छन्। प्रहरी प्रशासनले आगलागीको कारण र उद्धार प्रक्रियाबारे छानबिन अघि बढाउने जनाएको छ।







