
काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले पूर्वराजावादी समूहद्वारा सञ्चारमाध्यम र पत्रकारमाथि भएको आक्रमणको विरोध गरेको छ।
संगठनका महासचिव रोहित दाहालद्वारा जारी विज्ञप्तिमा शुक्रबार काठमाडौंका विभिन्न स्थानमा शान्तिपूर्ण प्रदर्शनको नाममा अराजक गतिविधि भएको जनाइएको छ। ती गतिविधिहरूले नागरिक घर, व्यवसायिक भवन, राजनीतिक दलका कार्यालय तथा सरकारी भवनलाई लक्षित गरी आगजनी, आक्रमण र लुटपाट गरेको संगठनको आरोप छ।
विज्ञप्तिमा पत्रकारमाथि गरिएको हिंसात्मक आक्रमणको कडा शब्दमा भर्त्सना गर्दै एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरज रजकको निधनप्रति गहिरो शोक व्यक्त गरिएको छ। साथै, कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुर, अन्नपूर्ण पोस्ट दैनिकलगायतका सञ्चारगृहमा आक्रमण र तोडफोड गरिनु प्रेस स्वतन्त्रता विपरीत रहेको जनाइएको छ।

संगठनले दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न र पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।








