
काठमाडौं । शुक्रबार पूर्व राजा समर्थकहरूको हिंसात्मक प्रदर्शनको क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा न्युज रिपोर्टिङ गरिरहेका पत्रकार सुशेर रजकको मृत्यु भएको घटनाप्रति नेवा: पत्रकार राष्ट्रिय दबूले गम्भीर ध्यानाकर्षण जनाएको छ।
पूर्व राजा समर्थक आन्दोलनको नेतृत्व गर्दै आएका दुर्गा प्रसाईको अगुवाइमा भएको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा भीडले प्रहरीमाथि आक्रमण गरेको थियो। सोही क्रममा भवनमा आगजनी भइ पत्रकार रजकको मृत्यु भएको थियो।
नेवा पत्रकार राष्ट्रिय दबूले संविधान प्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै, शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई स्वीकार गरे तापनि, पत्रकार तथा सञ्चारकर्मीमाथि हुने आक्रमणको घोर निन्दा गरेको छ। यस घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै, पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गरिनुपर्ने दबूले जनाएको छ।

नेवा पत्रकार राष्ट्रिय दबूले सरकारलाई तत्काल आवश्यक कदम चाल्न र सञ्चार माध्यमलाई उचित क्षतिपूर्ति प्रदान गर्न अनुरोध गरेको छ।








