काठमाडौं । राजधानी काठमाडौंमा शुक्रबार कथित राजावादी समूहको नाममा भएको हिंसात्मक प्रदर्शनले गम्भीर रुप लिएको छ। प्रदर्शनकारी समूहको आक्रमणबाट एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर निधन भएको छ। यस घटनाप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) स्तब्ध बनेको छ भने नेपाली प्रेस जगतमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
हिंसात्मक रुपमा उत्रिएको प्रदर्शनकारी समूहले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्टको कार्यालयलाई निशाना बनाई ढुंगामुढा र आगजनीको प्रयास गरेको छ। साथै, हिमालय टेलिभिजनको गाडीमा समेत तोडफोड गरिएको छ।
फोनिजले रिपोर्टिङमा रहेका पत्रकारको ज्यान लिने, प्रेसमाथि आक्रमण गर्ने, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र लुटपाट गर्ने कार्यको घोर निन्दा गर्दै भत्र्सना गरेको छ। साथै, आन्दोलनका संयोजक तथा हिंसात्मक घटनामा संलग्न आन्दोलनकारीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारकर्मीमाथि हुने दमन र हिंसाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै, फोनिजले सुरक्षा निकायसँग पत्रकारहरूको सुरक्षाका लागि विशेष चासो दिन आग्रह गरेको छ। त्रासमुक्त वातावरणमा समाचार संकलन गर्न पाउनु पत्रकारहरूको अधिकार भएकाले सुरक्षामा उच्च सतर्कता अपनाउँदै जिम्मेवारपूर्वक रिपोर्टिङ गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरिएको छ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै अराजकपूर्ण तथा हिंसात्मक गतिविधि रोक्न सरकारसँग माग गर्दै, फोनिजले पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै, विना अवरोध समाचार संकलन, सम्प्रेषण तथा प्रशारणमा सहज वातावरण बनाउन सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ।