२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

काठमाडौंको तीनकुने क्षेत्रको कर्फ्यु हट्यो



काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्र लगायतका स्थानमा जारी गरेको कर्फ्यु हटाएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार शनिबार बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो।

शुक्रबार राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले पहिलो पटक राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। तर, स्थिति अझै नियन्त्रणमा नआएपछि प्रशासनले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर शनिबार बिहान ७ बजेसम्म कर्फ्यु अवधि थपेको थियो।

यसअघि, कर्फ्यु जारी भइसकेपछि पनि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका थिए। शुक्रबारको हिंसात्मक आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन्।

शान्ति सुरक्षा कायम राख्नका लागि सुरक्षा निकाय उच्च सतर्कतामा रहेको प्रशासनले जनाएको छ। राजधानीमा अवस्था सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु हटाउने निर्णय गरेको हो।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  १ : ३६ बजे