काठमाडौं । काठमाडौंमा ‘गणतन्त्रको संरक्षण र लोकतन्त्रको रक्षा’ नारासहित समाजवादी मोर्चाले आयोजना गरेको ऐतिहासिक जनप्रदर्शन भव्य रूपमा सम्पन्न भएको छ। लाखौं नागरिक सडकमा उत्रिएर गणतन्त्र, समाजवाद र सुशासनको पक्षमा आवाज उठाएका थिए।
प्रदर्शनमा सहभागीहरुले निरंकुशता, प्रतिगामी षड्यन्त्र, कुशासन र सरकारका जनविरोधी गतिविधिको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण गर्नुपर्ने माग गरेका थिए।
यस प्रदर्शनमा नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), नेकपा, नेसपा लगायत चार वामपन्थी दल सहभागी भएका थिए। जनसभा एवं विरोध प्रदर्शनमा नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

समाजवादी मोर्चाले आयोजना गरेको सभामा राजतन्त्रको पुनर्स्थापनाको नाममा भइरहेको गतिविधिको कडा विरोध गर्दै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछि फर्काउने कुनै पनि प्रयास सफल हुन नदिने प्रतिबद्धता जनाइएको छ।
प्रदर्शनकै क्रममा अराजक समूहद्वारा हिंसात्मक गतिविधि गरियो। नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आक्रमण गरी आगजनी, तोडफोड तथा लुटपाट गरिएको छ। घटनाबाट पार्टी सम्पत्तिमा लाखौंको क्षति पुगेको छ।
त्यस्तै, पत्रकार सेरु रजकको क्रूरतापूर्ण हत्या, सञ्चार गृहहरुमाथि आक्रमण, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड जस्ता घटनाले मुलुकमा अराजक तत्वहरू सक्रिय रहेको देखाएको छ।
समाजवादी मोर्चाले सञ्चारकर्मीहरूमाथि गरिएको आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। साथै, पत्रकारको सुरक्षाका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरिएको छ।
समाजवादी मोर्चाले सरकारको कमजोरीप्रति गम्भीर आपत्ति जनाउँदै अराजक तत्वहरूलाई नियन्त्रण गर्न नसक्नु सरकारको असक्षमता भएको बताएको छ। सरकारको उदासीनताका कारण सार्वजनिक सम्पत्ति नष्ट हुनु, हिंसा बढ्नु र कानूनी शासन कमजोर हुनु गम्भीर विषय भएको जनाइएको छ।
समाजवादी मोर्चाले राजावादी प्रवृत्तिविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। चैत २५ गतेसम्म सबै प्रदेश, जिल्ला, स्थानीय तह र जनसंगठनहरूबाट सरकारलाई खबरदारी गरिने बताइएको छ।
यसैगरी, हिंसात्मक गतिविधिमा संलग्न दोषीहरूमाथि कडा कानुनी कारबाही गर्न माग गर्दै सरकारलाई दवाव दिने अभियान जारी रहने मोर्चाले स्पष्ट पारेको छ।