२८ असार २०८२, आइतबार | Sun Jul 13 2025

टोखामा भेटिएको २५ करोडको मालिक पहिचान



काठमाडौं । टोखा, झोरमा ट्रकबाट फेला परेको २५ करोड बराबरको डलर र युरोको मालिक पहिचान भएको छ । प्रहरी अनुसन्धानबाट उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ स्थायी घर भई टोखामा बस्ने नारायण पौडेलको भएको खुलेको छ ।

गत चैत ४ गते ट्रक (ना७ख १६५२) बाट रकम लुकाएर लैजाँदै गर्दा चालक कुसान लामा पक्राउ परेका थिए । लामाले ट्रकमा फल्स बटम बनाएर रकम राखेको प्रहरीले पत्ता लगाएको थियो ।

प्रहरी अनुसन्धानअनुसार पौडेलकै निर्देशनमा रकम ओसारपसार भएको देखिएको छ । बैंक कारोबार अस्वाभाविक देखिएपछि सीडीआर विश्लेषण गर्दा पौडेलसँग लामाको अन्तिम सम्पर्क रहेको पुष्टि भएको छ । पौडेललाई पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भइसकेको छ ।

प्रहरीले सीसीटीभी फुटेज, डिजिटल डिभाइस, उनको घर, कारोबार स्थल तथा गोदामहरूको छानबिन गरी थप प्रमाण सङ्कलन गरेको जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ११ : ०२ बजे