काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदसम्बन्धी कानुनी विवादमा सर्वोच्च अदालतमा परेको रिटमाथि मंगलबार सुनुवाइ सम्पन्न भएको छ।
न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यका रिटमाथि बहस चलेको थियो। दिनदिनभर चलेको सुनुवाइ मंगलबार टुंगिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। दुवै रिटमा आजै आदेश आउने अपेक्षा गरिएको छ।
के छ कानुनी विवाद ?
कुलमान घिसिङले आफ्नो कार्यकाल बाँकी रहँदै सरकारले बदनियतपूर्वक हटाएको दाबी गर्दै अन्तरिम आदेश माग गरेका छन् । उनले सरकारको निर्णय कार्यान्वयन हुन नदिन सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

त्यस्तै, हितेन्द्रदेव शाक्यले चार वर्षअघि आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्नु नै गलत भएको जिकिर गर्दै त्यसबेलै रिट दायर गरेका थिए । तर, सो रिटमा कुनै निर्णय नभएकाले उनले अहिले कुलमानको निवेदनमाथि सुनुवाइ हुन नहुने भन्दै अर्को रिट दायर गरेका हुन् ।
यो कानुनी लडाइँले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व विवादलाई थप पेचिलो बनाएको छ । सर्वोच्च अदालतको आदेशपछि यस विषयमा नयाँ मोड आउने देखिन्छ ।