३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

मधेशकेन्द्रित ७ दलद्वारा ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा



काठमाडौं । मधेशकेन्द्रित ७ राजनीतिक दलले समतामूलक र न्यायसंगत व्यवस्था स्थापनाका लागि ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् । काठमाडौंको बानेश्वरमा आयोजित कार्यक्रममा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सम्मिलित मोर्चा घोषणा गरिएको हो ।

मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण गर्ने, सामथ्र्य र पहिचानको आधारमा प्रदेशहरूको नामांकन तथा संरचना सुनिश्चित गर्ने, साथै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संघ र प्रदेश सरकारबीचको अधिकार क्षेत्र स्पष्ट पार्ने लक्ष्य राखेको छ ।

घोषणा कार्यक्रममा वितरण गरिएको विज्ञप्तिमा राजस्व तथा स्रोतसाधनको न्यायोचित बाँडफाँट, प्रदेशलाई सक्षम बनाउने र स्थानीय तहलाई प्रदेश अन्तर्गत राख्ने कुरामा प्रतिबद्धता जनाइएको छ । संघीय लोकतान्त्रिक प्रणालीलाई थप समृद्ध बनाउने उल्लेख गर्दै मोर्चाले नेपाल सरकार र आन्दोलनरत शक्तिबीच भएका २२ बुँदे, ८ बुँदे, र ११ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न, जनआन्दोलन, मधेश आन्दोलन, थरुहट, लिम्बुवान लगायतका आन्दोलनका क्रममा पक्राउ परेका तथा मुद्दा चलाइएका बन्दीहरूको रिहाइको मागसमेत मोर्चाले अघि सारेको छ ।

मोर्चाको घोषणासँगै मधेश केन्द्रित दलहरूको राजनीतिक गतिविधि अझ सक्रिय हुने अपेक्षा गरिएको छ।

[pdf-embedder url=”https://www.sagarmathaonline.com/wp-content/uploads/2025/04/संघिय-लोकतान्त्रिक-मोर्चाको-घोषणा.pdf” title=”संघिय लोकतान्त्रिक मोर्चाको घोषणा”]

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १२ : ०५ बजे