रौतहट । रौतहटमा जंगली बँदेल मार्न थापिएको विद्युतिय धरापमा परेर एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
रौतहटको वृन्दावन नगरपालिका-१ बलेरी खोरस्थित मकै खेतमा सुशील विश्वकर्माले जंगली बँदेल नियन्त्रणका लागि नाङ्गो तारमा करेन्ट प्रवाह गरेका थिए। यही क्रममा उक्त खेतको बाटो हुँदै जाँदै गरेकी ४५ वर्षीया फुलमतिया देवी करेन्ट लागेर गम्भीर घाइते भइन् र घटनास्थलमै मृत्यु भयो।
घटनापछि सुशील विश्वकर्मा र जितेन्द्र पटेलले शवलाई लुकाउने उद्देश्यले करिब चार किलोमिटर उत्तरतर्फ रहेको रामलाल साझेदारी वनमा खाल्डो खनेर गाडेका थिए।

फुलमतिया देवी बेपत्ता भएपछि स्थानीय तथा प्रहरीले खोजी थालेका थिए। अनुसन्धानका क्रममा उनको घर नजिकै मकै बारीमा उनको चप्पल र विद्युतको तार फेला परेको थियो। यही प्रमाणका आधारमा प्रहरीले सुशील विश्वकर्मा र जितेन्द्र पटेललाई पक्राउ गरेको हो।
रौतहट प्रहरी उपरीक्षक घिमिरेका अनुसार पक्राउ परेका दुवै जनामाथि प्रारम्भिक अनुसन्धान पूरा भइसकेको छ। उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको छ।