
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलिमात्रै भैरहवा लगिने भएको छ । प्रहरीका अनुसार उनलाई विमानमार्फत भैरहवा लैजाने तयारी गरिएको छ ।
शुक्रबार साँझ बुढानीलकण्ठस्थित आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको छ । ‘भोलि विमानमार्फत भैरहवा लाने तयारी गरेका छौं,’ एक प्रहरी अधिकारीले जानकारी दिए ।
लामिछानेमाथि संगठित रूपमा सहकारी ठगी गरेको आरोप लागेको छ । बुटवलको उच्च अदालतले शुक्रबार उनलाई थुनामा पठाउने आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । तर, उनले उक्त आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतले धरौटीमा रिहा गर्ने निर्णय उल्टाउँदै थुनामा पठाउन आदेश दिएपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो ।







