बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार राति काठमाडौंस्थित निवासबाट पक्राउ गरिएको छ । उनलाई आज (शनिबार) बिहान यती एयरलाइन्सको विमानमार्फत भैरहवा ल्याइएको हो । बिहान ९:१२ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनलाई सिधै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा लगिएको प्रहरीले जनाएको छ ।
उनीमाथि बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत तुलसीपुर, बुटवल इजलासले शुक्रबार आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालत रुपन्देहीले माग गरेको एक करोड धरौटीमा छाड्ने आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो ।
यसअघि जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । सो आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए । उच्च अदालतले मुद्दाको प्रकृति, घटनाको अवस्था, पीडितको स्थिति लगायतका सन्दर्भमा धरौटीको सट्टा थुनाको आदेश दिनुपर्ने ठहर गरेको छ ।

शुक्रबार राति पक्राउ गरिएका लामिछानेलाई प्रारम्भमा काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो । शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले उनलाई सोमबारमात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।