काठमाडौं । सफल व्यावसायी तथा समाजसेवी बलराम गुरुङ नेपाल कार्पेट उद्योगसँग सम्बन्धित शीर्ष संस्था नेपाल कार्पेट उत्पादक तथा निर्यात संघको अध्यक्षमा निर्वाचित भएका छन् । संघको वार्षिक साधारणसभाबाट गुरुङ सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
गुरुङ लामो समयदेखि कार्पेट उत्पादन र निर्यात व्यवसायमा सक्रिय रहँदै आइरहेका छन् । उनले नेपाली हाते कार्पेटलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन उल्लेखनीय योगदान पुर्याएका छन् । उनको नेतृत्वमा कार्पेट उद्योगको गुणस्तर, अन्तर्राष्ट्रिय बजार विस्तार तथा व्यावसायिक सुधारमा थप योगदान पुग्ने व्यवसायीहरुले विश्वास गरेका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि गुरुङले नेपाली हाते कार्पेट उद्योगको दिगो विकासका लागि सरकारसँग सहकार्य, उत्पादनमा नवीनता, युवा उद्यमशीलता प्रोत्साहन र अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन् । उनले विभिन्न समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारको अवसर सिर्जना गर्ने कार्यक्रमहरूमा समेत अग्रसरता देखाउँदै आएका छन् ।
नेपाल कार्पेट उद्योग देशको परम्परागत हस्तकलामध्ये एक हो, जसले निर्यात मार्फत विदेशी मुद्राको आर्जनमा महत्वपूर्ण योगदान दिँदै आएको छ । नयाँ नेतृत्वसँगै संघले उद्योगको समग्र उत्थान र प्रवर्द्धनमा थप प्रभावकारी पहल गर्ने अपेक्षा गरिएको छ ।