३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

सीके राउत कार्यकारी अध्यक्ष, रेशम चौधरी वरीयतामा पहिलो



काठमाडौं । मधेस केन्द्रित दुई दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको बहुप्रतीक्षित एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आइतबार बर्दियामा सम्पन्न दुई पक्षीय बैठकले एकीकृत पार्टीको शीर्ष नेतृत्व संरचना टुंग्याउँदै डा. सीके राउतलाई कार्यकारी अध्यक्षका रूपमा चयन गर्ने सहमति जुटाएको हो ।

पार्टी एकतापछि अध्यक्षद्वय प्रणाली रहनेछ । कार्यकारी अध्यक्ष र पार्टीको दोस्रो वरीयतामा राउत रहनेछन् भने, पहिलो वरीयतामा नाउपाका संरक्षक रेशम चौधरी रहने निश्चित भएको छ । रञ्जिता श्रेष्ठ सह-अध्यक्षका रूपमा रहनेछिन् ।

जनमत पार्टीका अध्यक्ष डा. राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र कार्यदलका अन्य नेताबीच भएको छलफल सकारात्मक दिशामा अघि बढेको जनाइएको छ । जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार, “१५ वैशाखभित्र औपचारिक एकता घोषणा गर्नेगरी सहमति लगभग पक्का भइसकेको छ ।”

नयाँ समीकरण : मधेसको राजनीतिमा नयाँ शक्ति ?

राउत र चौधरी दुवै पृथक् पृष्ठभूमिबाट आएका राजनीतिक व्यक्तित्व हुन् । राउतले मधेस स्वतन्त्रताको एजेन्डाबाट मूलधारे राजनीतिमा प्रवेश गरेका हुन् भने, चौधरीले थारू अधिकार आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । दुई पार्टीको सम्भावित एकता मधेस तथा तराई–थरुहट क्षेत्रमा प्रभाव पार्न सक्ने नयाँ शक्ति निर्माणको संकेतका रूपमा हेरिएको छ ।

पार्टीको संगठन, नीतिगत विषय र शक्ति बाँडफाँडसम्बन्धी बाँकी विषयमा पनि चाँडै सहमति हुने आशा गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  ३ : ३८ बजे