काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शनमा पक्राउ पर्नेको संख्या ६७ पुगेको छ । प्रहरीका अनुसार उक्त प्रदर्शन हिंसात्मक मोडमा गएपछि नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि संगठित अपराध तथा राज्यविरुद्धको अभियोगमा अनुसन्धान अगाडि बढाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले सोमबारसम्म कुल ६७ जनालाई पक्राउ गरी हिरासतमा राखिएको जानकारी दिएका छन् । “आरम्भमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवल शमशेर राणा लगायत ४१ जना पक्राउ परेका थिए,” उनले बताए, “बाँकीलाई विभिन्न स्थानबाट क्रमिक रूपमा पक्राउ गरिएको हो ।”
राज्यविरुद्धको अभियोगमा अनुसन्धान
पक्राउ परेकाहरूविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव तथा संगठित अपराध अन्तर्गत अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद लिइएको प्रहरीले जनाएको छ ।

प्रदर्शनमा सहभागीमध्ये केहीले तोडफोड, सरकारी काममा अवरोध र भिड व्यवस्थापनमा अवज्ञा गरेको आरोप लगाइएको छ। घटनास्थलमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।
प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं अझै फरार
यस आन्दोलनका एक मुख्य अगुवा मानिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने अहिलेसम्म प्रहरीको नियन्त्रणमा आएका छैनन् । उनको खोजी जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।
राजसंस्थाको पुनर्स्थापना, धर्म निरपेक्षताको खारेजी लगायतका नारासहितको प्रदर्शन राप्रपा, राजसंस्था समर्थक समूह र दुर्गा प्रसाईं पक्षधरले आह्वान गरेका थिए ।