
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रम पार्टीभित्रको शक्ति समूहनिर्माणको सुरुवातको रूपमा हेरिएको छ । महाराजगञ्जस्थित निवासमा मंगलबार आयोजित चियापान कार्यक्रममा पार्टीका प्रभावशाली पूर्वपदाधिकारी र नेताहरूको उल्लेखनीय उपस्थितिले आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै रणनीतिक छलफलहरू तीव्र हुँदै गएको संकेत दिएको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वउपप्रधानमन्त्रीहरू बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतलगायत नेताहरू शशांकसँग छुट्टै छलफलमा सहभागी भएका छन् । उनीहरूले महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्र छुट्टै समूह गठन गर्ने विषयमा विचारविमर्श गरेको बुझिएको छ ।
चियापान कार्यक्रममा एनपी साउद, दिलेन्द्र बडु, पुस्पा भुसाल, दीपक गिरी, अम्बिका बस्नेत, गुरु बराल, नैनसिंह महर, राजीव ढुंगाना, शिव हुमागाईंलगायत दर्जनौँ नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अन्य सहभागीहरू चियापानमा व्यस्त रहँदा शशांक समूह भने रणनीतिक बैठकमा केन्द्रित भएको थियो । यसले कांग्रेसभित्र आगामी महाधिवेशनलाई लिएर नयाँ समीकरण बन्ने सम्भावनाको संकेत दिएको छ ।







