काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई अपराध अनुसन्धान कार्यालयले काठमाडौंको कपनस्थित घरबाट पक्राउ गरेको छ । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा करोडौं रकम अपचलन गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, लामो समय फरार रहेकी राई आइतबार पक्राउ परेकी हुन् ।
स्वर्णलक्ष्मी सहकारीमा सहसचिवका रूपमा कार्यरत रहेकी राईमाथि ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोप लागेको छ । यसअघि उनलाई मुद्दाबाट उन्मुक्ति दिइएको भन्दै आलोचना भएको थियो । तर, पछिल्लोपटक उनलाई समेत पाँच जनालाई उन्मुक्ति दिँदै बाँकी ३९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
जनजाति कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य रहेकी राई पार्टी सभापति शेरबहादुर देउवा समूहमा आबद्ध समानुपातिक सांसद हुन् ।
