
काठमाडौं । केही दिनदेखि देशभरि बढ्दो गर्मी सोमबारदेखि क्रमशः कम हुँदै जाने मौसमविद्हरूले बताएका छन् । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि देशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने र गर्मी कम हुँदै जाने उनले जानकारी दिए ।
डा. पोखरेलका अनुसार भोलि मंगलबार काठमाडौंसहित पूर्वी नेपालमा राम्रै वर्षा हुने सम्भावना छ । लगातार वर्षाको असरले तापक्रममा उल्लेखनीय गिरावट आउने र तातो मौसमबाट केही राहत मिल्ने बताइएको छ ।
पछिल्ला केही दिनयता लुम्बिनी प्रदेशका तराई जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । अन्य प्रदेशका तराई जिल्लाहरूमा पनि तापक्रम ३८ डिग्रीभन्दा माथि मापन गरिएको थियो, जसका कारण तातो हावाको चेतावनीसमेत जारी गरिएको थियो ।

मौसमविद्हरूका अनुसार आगामी केही दिनजसो देशका विभिन्न स्थानमा वर्षाको क्रम जारी रहनेछ र तापक्रममा गिरावट आउँदा गर्मी कम हुँदै जानेछ ।







