वर्षाले नारायणगढ-बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध, यात्रुहरू बीच बाटोमै अलपत्र

  सगरमाथा अनलाइन
133 Shares

काठमाडौं । निरन्तर परेको वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ अवरुद्ध भएका छन् ।

शनिबार रातिदेखि सडक अबरुद्ध हुँदा सयौं यात्रुहरू बाटोमै अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे भएर चिप्लो बनेपछि सवारी साधन चल्न नसक्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

प्रहरीले सडक हुँदै यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । दाउन्ने खण्डमा सडक विस्तारको काम भइरहेकाले पानी पर्दा हिलो र नपर्दा धुलो हुने हुँदा यात्रा कष्टकर हुने गरेको छ । त्यसमाथि राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक बन्द हुने क्रम जारी छ ।

त्यस्तै, कान्ति लोकपथ पनि गएरातिदेखि परेको वर्षाले अवरुद्ध भएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौं–हेटौंडा सडक पूर्ण रूपमा बन्द भएको हो । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजेदेखि नै सवारी आवागमन ठप्प छ ।

सडक खुलाउने प्रयासमा प्रहरी टोली परिचालित भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । यात्रुहरूलाई सुरक्षित रहन र प्रहरीको निर्देशनअनुसार यात्रा गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार