
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ ।
आईपीओ स्वीकृतिको प्रक्रियामा कमिसन मागिएको आरोप उठेपछि बुधबार अख्तियारको टोलीले बोर्डमा छापा मारेको हो । आयोग स्रोतका अनुसार पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजात नियन्त्रणमा लिइएका छन् ।
निजी ऊर्जा उत्पादकहरूको संस्था इप्पानका पदाधिकारीहरूले आईपीओ स्वीकृति प्रक्रियामा बोर्डका अधिकारीहरूबाट सेयर निष्कासन रकमको पाँच प्रतिशत कमिसन मागिएको आरोप लगाएका छन् ।

इप्पानका अनुसार हाल ४३ जलविद्युत् कम्पनीको आईपीओ स्वीकृतिको प्रक्रिया चलिरहेको छ । तीमध्ये ४२ कम्पनीका प्रवर्द्धकहरूलाई बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठका तर्फबाट पठाइएको भनिएका व्यक्तिहरूले भेटघाट, फोन, एसएमएस तथा इमेलमार्फत रकम मागेको पुष्टि भएको छ ।
‘आईपीओ चाँडै स्वीकृत गरिदिन ५ प्रतिशत कमिसन दिनुपर्ने भनिएको छ,’ एक जलविद्युत् प्रवर्द्धकले बताए, ‘ढिला गर्दा ब्याज बढ्ने भन्दै दबाब दिने गरिएको छ ।’
कमिसन मागिएको विषय सार्वजनिक भएपछि संसद्मा पनि छलफल भएको थियो । त्यसपश्चात अख्तियारले बोर्डमा छापा मारेको हो ।
अख्तियारले संकलन गरेका कागजातहरूमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।







